काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि सहभागी हुने एमालेले आकलन गरेको छ। महाधिवेशनमा सहभागी हुनेहरूको तह निर्धारण गर्दै एमालेले ५ हजारको संख्यामा प्रतिनिधि सहभागी हुन सक्ने आकलन गरिएको सचिव योगेश भट्टराईले जानकारी दिए।
'विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि हुने अनुमान गरिएको छ। विदेशबाट पनि प्रतिनिधि आउने छन्,' भट्टराईले भने, 'अहिले ठ्याक्कै यकिन गरिएको संख्या होइन। तर हामीले बनाएका मापदण्डका आधारमा गरिएको अनुमान हो।'
विधान महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय सबै आयोग, केन्द्रीय सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च, प्रदेश कमिटीका सबै सदस्य प्रतिनिधि बन्नेछन्। यस्तै प्रत्येक केन्द्रीय विभागबाट ५ जना, प्रत्येक जनसंगठनबाट १० जना, जिल्ला कमिटीका पदाधिकारी, निर्वाचन क्षेत्रबाट २ जना, प्रत्येक जिल्लाबाट कम्तीमा १ दलित पनि प्रतिनिधि बन्नेछन्।
यस्तै,संघ र प्रदेशका सबै सांसद, पालिकाका प्रमुख/उपप्रमुख, एकता र एकीकरणमा सामेल भएका सबैलाई सम्मानजनक प्रतिनिधित्व हुने गरी प्रतिनिधि सहभागी गराइने उनको भनाइ छ। यस्तै १० प्रतिशतको संख्यामा मनोनयनसमेत गरिने भट्टराईले जानकारी दिए।
एमाले विधान महाधिवेशन असोज १५ गते ११ बजे गोदावारीको सनराइज हलमा सुरु भई तीन दिनसम्म चल्ने यसअघि नै एमालेले निर्णय गरिसकेको छ।