शुक्रबार, वैशाख २८, २०८१

माधव नेपाल टसको मस नहुनुमा यस्ता छन् चार कारण

 |  सोमबार, साउन १८, २०७८

बीपी अनमोल

बीपी अनमोल

सोमबार, साउन १८, २०७८

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘अब माधव नेपाललाई पार्टीमा ठाउँ नरहेको’ बताइरहँदा नेता नेपाल अर्को कार्यक्रममा ओलीलाई संकेत गर्दै ‘अब जालझेल गरेर कसैले प्रधानमन्त्री बन्छु भन्ने सपना नदेखे हुन्छ’ भन्ने अभिव्यक्ति दिइरहेका थिए। 

triton college

एमालेका शीर्ष यी दुई नेताको अभिव्यक्तिले पार्टी एकता होला या विग्रहको बाटो समात्ला भनेर किटान गर्न सक्ने अवस्था छैन। दुई नेताबीच पछिल्लो राजनीतिक सौदाबाजी कुन विषयमा छ भन्ने बाहिर आएको छैन।

यद्यपि दोस्रा तहका खासगरी विवाद समाधानका लागि गठन भएर विगठन गरिएका कार्यदलका सदस्यहरू नेताद्वयलाई मिलाउन भरमग्दुर प्रयत्नमा छन्। शनिबार विघटित कार्यदलका सदस्यहरूको आग्रहमा स्थायी कमिटी बैठक स्थगित गरिएको थियो।

केही दिनअघिसम्म नेपालविरुद्ध कुनै अभिव्यक्ति नदिएको अध्यक्ष ओलीले शनिबार भने नेपाललाई पार्टीमा ठाउँ नै नरहेको बताएका थिए। तर नेता नेपाल आफ्नो अडानबाट टसको मस देखिएका छैनन्। माधव नेपाल अडानमा कायम ररिहनुका यस्ता छन् कारण :

१. ओलीप्रतिको अविश्वास

corrent noodles
Metro Mart

शनिबार डाकिएको स्थायी कमिटी बैठक स्थगित गरेर नेता नेपाल निकट कार्यदलका सदस्यले नेपालसँग तीन घण्टा लामो छलफल गरे। छलफलमा ठोस निष्कर्ष निस्कन सकेन। नेपाल आफ्नो अडानबाट पछि हट्न मानेनन्। कार्यदलका सदस्यहरूसँग पनि नेता नेपाल ओली विरुद्ध नै खनिएका थिए।

‘तपाईंहरुले सुनिरहनुभएको छ नि अभिव्यक्ति। यस्तो अभिव्यक्तिले त ओलीले नै एकता नचाहेको देखिएको छ नि,’ नेपालको भनाइ उधृत गर्दै एक सहभागीले भने, ‘कसरी विश्वास गर्ने ओलीको? उनी सच्चिने संकेत छैन।’

नेपालसँग भेटेपछि उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए। बालकोटमा अध्यक्ष ओलीले एकताका लागि यो भन्दा बढी लचकता अपनाउन नसकिने प्रस्ट पारेपछि उनीहरु निराशजस्तै भएर फर्र्किएका थिए।

‘न अध्यक्ष ओली आफ्नो अडानबाट पछि हट्न चाहिरहनुभएको छ। न वरिष्ठ नेता नेपाल मानिरहनुभएको छ,’ कार्यदलमा रहेका एक नेता भन्छन्, ‘उहाँहरू कोही पनि एक कदम पछि हट्न नचाहेकाले नै समस्या खडा भएको छ।’

२. ‘दोस्रो अध्यक्ष चाहिन्न विवाद समाधानको स्पष्ट खाका देऊ’ 

वरिष्ठ नेता नेपाल पक्षका कार्यदलका सदस्यहरू १० बुँदेलाई टेकेर नै एकतालाई टुंगो लगाउनुपर्ने बताइरहेका छन्। उनीहरू त्यसबाहेकको थप सहमतिका लागि दुईजना नेताहरूले आपसमा छलफल गर्नुपर्ने बताउँछन्। तर, ओली र नेपालबीच भेटवार्ता हुने कुनै संकेत छैन। विवाद समाधानको प्रस्ट खाका तयार नभई ओलीसँग भेट्न नेपाल तयार छैनन्।

नेपाल पक्षकै अन्य नेताहरू भने दोस्रो अध्यक्षको प्र्रस्ताव स्वीकार्य नहुने बताउँछन्। उनीहरूले केपी ओली अध्यक्षबाट नै हट्नुपर्ने बताइरहेका छन्। पार्टी एकताका लागि समान हैसियतसहितको एकता भएमा मानेर जान सकिनेमा भने नेपाल छन्। तर, ओली पक्ष समान हैसियत दिन नसकिने अडानमा छ। 

माधव नेपाल स्वंय अहिलेसम्म अध्यक्षका लागि मानिरहेका छैनन्। ‘पार्टी एकताका लागि म तयार छु तर, अध्यक्ष बन्दिनँ भनेर भनिरहनुभएको छ,’ उनी निकट एक नेता भन्छन्, ‘बरु झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य वा भीम रावललाई बनाउनुपर्छ भन्नुहुन्छ। हामीले हुँदैन तपाईं नै हुनुपर्छ भनिरहेका छौं।’ 

अहिले पार्टी अध्यक्ष स्वीकारेर जाँदा पदको निम्ति गयो भनेर आलोचना हुने देखेर पनि नेता नेपाल त्यसमा तयार हुन नसकेको नेताहरू बताउँछन्। 

सांसद सोमप्रसाद पाण्डे वरिष्ठ नेता नेपाल पार्टी एकता भन्दाबाहिर नरहेको र कार्यदलले थप छलफल गरेर प्रस्ट खाका तयार पारेर ल्याएमा त्यसमा संवाद गरेर अघि बढ्न तयार रहेको बताउँछन्। 

३. ओली एकलौटी अघि बढ्दा परेको पीडा

नेकपा एमालेको नवौं महाधिवेशनदेखि नै पार्टीभित्र आन्तरिक गुटबन्दी मौलाउँदै गएको थियो। महाधिवेशनमा झिनो अन्तरले ओलीसँग पराजित भएका वरिष्ठ नेता माधवकुमार नेपाल ओली पार्टी अध्यक्ष भइसकेपछि उनको क्रियाकलापबाट असन्तुष्ट थिए।

२०७५ जेठ ३ मा नेकपा माओवादी केन्द्रसँग एकता भएपछि नेकपा बन्यो। नेकपा हुँदा पनि ओलीले स्वेच्छारी र एकलौटी ढंगले अघि बढ्न थाले। त्यहाँदेखि नै टकराव बढ्दै गयो। नेपालले पुष्पकमल दाहालसँग लागेर ओलीको विरोध गर्न थाले।

निर्वाचनमा टिकट दिँदा होस् वा पार्टीभित्र जिम्मेवारी दिने कुरामा ओलीले एकलौटी रूपमा अघि बढेपछि नेपाल रुष्ट बन्दै गएका थिए। सर्वोच्च अदालतले २०७७ फागुन २३ मा नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा नै फर्काएपछि एमाले एकताबद्व भएर जान सकेको छैन। 

ओलीले विगतदेखि नै पार्टी र सरकारमा गरेको एकलौटी गतिविधि पुनः दोहोरिन सक्ने देखेका नेता नेपाल अहिले भने आफ्नो अडानबाट टसमस भएका छैनन्। ‘हिजोका दिनमा पनि विवाद हुँदा अब विधि र पद्धतिअनुसार अघि बढ्छु भन्दै सहमति गर्ने तर, दोस्रो दिनमै उल्लंघन गर्ने क्रम यथावत् देखियो,’ नेपाल निकट एक सांसद भन्छन्, ‘अहिले पनि अनेक आश्वासनमा दिएर आफूअनुरुप ओलीले गर्न चाहेको वरिष्ठ नेताले बुझ्नुभएको छ। त्यसैले प्रस्ट खाका तयार भएर सहमति नभई हतारमा विवाद समाधान गर्नु हुँदैन भन्ने अडान हो।’

४. फुर्सदमा पछुताउनुभन्दा हतारमा निर्णय नै नगर्नु बेस

वरिष्ठ नेता नेपाल विगतमा एमाले महासचिव हुँदादेखि नै हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने नेताका रुपमा परिचित छन्। त्यसैले उनी अहिले त्यसलाई मेट्ने पक्षमा छन्। 

पार्टी सञ्चालनका विधि, पद्धतिलाई पूर्णरुपमा पालना गर्ने सर्त प्रस्ट रूपमा हुनुपर्ने अडानमा रहेका नेता नेपाल अहिले हतारमा सहमति गरेर भोलि पार्टीमा थप समस्या निम्त्याउन चाहँदैनन्। 

नेता नेपालले १० बुँदे सहमतिमा थप परिमार्जन गरेर दुवै तर्फका कार्यदलले प्रस्ट खाका तयार गरेपछि मात्रै ओलीसँग वार्ता गरेर समाधान गर्न खोजेका छन्। ‘अहिले हतारमा ओलीसँग सहमति ग¥यो। फेरि दोस्रो दिनदेखि नै उनले एकलौटी र स्वेच्छाचारी रूपमा अघि बढे भने झन् विद्रोह र विवाद हुन्छ,’ नेपालको भनाइ उधृत गर्दै उनी निकट एक स्थायी कमिटी सदस्य भन्छन्, ‘त्यसैले पार्टीलाई एकताबद्व बनाउने सोचका साथ सबैलाई न्याय हुने हिसाबले मात्रै विवाद समाधान हुनुपर्छ भन्नेमा उहाँ प्रस्ट हुनुहुन्छ।’

पार्टी कमिटीका बैठकले गर्ने निर्णय, उम्मेदवारी चयन, नेताकार्यकर्तालाई दिइने जिम्मेवारी, राजनीतिक नियुक्तिलगायतका हरेक निर्णय पार्टी विधान र न्यायसंगत रुपमा हुने ग्यारेन्टी चाहेका छन् नेपालले। 

एमाले प्रमुख सचेतक विशाल भटट्राई माधव नेपाल पक्षले अघि सारेको समान हैसियतको अध्यक्ष भन्ने माग कुनै हालतमा पूरा नहुने दाबी गर्छन्। ‘पार्टी कमिटीका बैठक र गतिविधि लगातार अघि बढछन्। अब आउने साथीहरु आउनुहुन्छ आउनै नचाहनेलाई पर्खिने कुरा हुँदैन,’ उनी भन्छन्, ‘जेठ २ मा जाने भनिसकेपछि अब धेरै केही गर्न सकिन्न।’ 

प्रकाशित: Aug 02, 2021| 07:05 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...