शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कञ्‍चनपुरमा एनपी भर्सेस रमेश: बहुमत पालिकामा साउद निकट उम्मेदवार विजयी

कञ्‍चनपुरमा एनपी भर्सेस रमेश: बहुमत पालिकामा साउद निकट उम्मेदवार विजयी

 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं- कञ्‍चनपुरको राजनीतिमा पछिल्लो समय एनपी साउद र रमेश लेखकबीच प्रतिस्पर्धा हुने गरेको छ। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका एनपी साउदले नै राजनीतिमा प्रवेश गराएका लेखक पछिल्लो समय प्रतिस्पर्धी बनेका हुन्। दुबै नेता कांग्रेसका केन्द्रीय सदस्य हुन्।

जिल्लाको राजनीतिमा विपरीत ध्रुवमा रहेका यी दुबै नेता पार्टीको केन्द्रीय राजनीतिमा भने सभापति शेरबहादुर देउवा समूहमा छन्। देउवाको ‘कोर’ टिमका सदस्य रहेका यी दुई नेता जिल्लाको राजनीतिमा भने नदीका दुई किनाराझैं छन्।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भइरहेका वडा र पालिका अधिवेशनमा देशभरका अधिकांश जिल्लामा संस्थापन पक्ष र संस्थापन इतर पक्ष चुनावी मैदानमा छन्। यी दुई समूहबीच कडा प्रतिस्पर्धा भइरहेको छ। तर, कञ्‍चनपुरमा भने संस्थापन समूहकै साउद र लेखकबीच प्रतिस्पर्धा चलिरहेको छ।  

भदौ ९ गते सम्पन्‍न पालिका अधिवेशनमा लेखकभन्दा साउद बलिया देखिएका छन्। कञ्‍चनपुरका ९ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा साउद निकट नेताहरु सभापतिमा निर्वाचित भएका छन्। साउदले संस्थापन इतर समूहका संविधानसभा सदस्य दिवान विष्टसँग मिलेर पालिका तहमा उम्मेदवार चयन गरेका थिए। साउद र विष्ट मिल्दा पालिका अधिवेशनमा लेखक कमजोर देखिएका हुन्।

 साउदको समूहका दानसिंह ऐर शुक्लाफाँटा नगरपलिकाको नगरसभापतिमा सर्वसम्मत चयन भएका छन्। यस्तै कुष्णपुर नगरपालिकामा विष्णु खड्का सर्वसम्मत सभापति चयन भएका छन्। लालझाडी गाँउपालिकामा श्रीकृष्ण राना विजयी भएका छन्। उनले राजेश रानालाई पराजित गरेका हुन्। श्रीकृष्णले ६३ मत पाउँदा राजेशले २६ मत ल्याएका थिए। पुर्नवास नगरपालिकाको सभापतिमा साउद पक्षका शुकबहादुर तामाङ निर्वाचित भएका छन्। उनले दिलबहादुर बोहोरालाई पराजित गरेका हुन्। 

बेलौरी नगरपालिकामा पेपुराम चौधरी विजयी भएका छन्। उनले लेखक समूहका विक्रम चन्दलाई पराजित गरेका हुन्। चौधरीले ९० मत प्राप्त गर्दा चन्दले ८० मत ल्याएका थिए। बेलडाँडी गाँउपालिको सभापतिमा गजबहादुर विष्ट विजयी भएका छन्। उनले नातामा हजुरबुवा पर्ने पृतबहादुर विष्टलाई हराएका थिए। गजबहादुरले ४५ मत ल्याउँदा पृतबहादुरले ३७ मत ल्याएका थिए।

 लेखक पक्षले महाकाली नगरपालिका, भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकामा जित निकालेको छ। महाकाली नगरपालिकामा राजेन्द्र मल्ल निर्वाचित भए। यस्तै भीमदत्त नगरपालिकामा आशिष खत्रीलाई पराजित गर्दै अच्युतराज कलौनी निर्वाचित भए। कलौनीले २५० मत ल्याएर विजयी हुँदा खत्रीले १२७ मत प्राप्त गरेका थिए। यस्तै बेदकोट नगरपालिकामा तुलाराम साहु सभापतिमा निर्वाचित भएका छन्।

जिल्लाको राजनीतिमा साउदसँग संविधानसभा सदस्यद्वय दिवान विष्ट र बहादुरसिंह थापा रहेका छन् भने लेखक जिल्लामा एक्लिएका छन्। पार्टीको जिल्ला अधिवेशनमा साउद समूहबाट संविधानसभा सदस्य बहादुरसिंह थापाले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् भने लेखक समूहबाट वर्तमान जिल्ला सभापति हरि बोहरा दोहोरिने भएका छन्। 

प्रकाशित: Sep 26, 2021| 16:08 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...