काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व उपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गरी उनले औपचारिक रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। एनआरएनएको दशौं विश्व सम्मेलन आगामी अक्टोबर २३–२५ मा काठमाडौंमा हुँदैछ। एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको आचार्यले बताए।
आचार्यले आफू अध्यक्षमा निर्वाचित भएमा कोभिडका कारण रोजगारी गुमाएर फर्किएका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने, विदेशमा हुर्किरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न अनलाइन कक्षाहरु सञ्चालन गर्ने, एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन ‘एनआरएनए खेलकुद प्रतिष्ठान’ स्थापना गर्ने प्रतिवद्धता जनाए। उनले एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौता गर्ने पनि बताए।