शनिबार, चैत ७, २०८२

आनन्द दिने अक्‍वारियम

युवा पुस्ताले पनि माछामा रुचि देखाएका कारण अक्वारियमको व्यापार पनि बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन्।
 |  आइतबार, असोज १०, २०७८

सुलभ ढकाल

सुलभ ढकाल

आइतबार, असोज १०, २०७८

काठमाडौं– मान्छेका अनेक सोख हुन्छन्। त्यसमध्येको एउटा हो अक्वारियममा माछा पाल्नु। रंगीचंगी माछा अक्वारियममा हालेर सजावट सामग्रीका रूपमा प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ।

National life

साथी र सुरक्षाका लागि घरमा कुकुर, बिरालो, सुँगा आदि पालेजस्तै सजावटका लागि माछा पालिन्छ। पहिले हुनेखानेका घरमा मात्रै सजिने अक्वारियम अहिले हुँदाखानेको घरमा पनि प्रशस्तै देखिन थालेको छ। मानसिक आनन्द र घरको आन्तरिक सौन्दर्यमा ओज थप्न अक्वारियममा आकर्षण बढेको हो।

युवा पुस्ताले पनि माछामा रुचि देखाएका कारण अक्वारियमको व्यापार पनि बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन्।

वास्तु सिद्धान्तअनुसार पनि घरमा माछा पाल्नुलाई नेपाली समाजमा लक्षिनको संकेत मानिन्छ। त्यस्तै, माछाले मानिसलाई आनन्द र तनावमुक्त पनि बनाउँछ। 

बजारमा सानो बाउल (कचौरा आकारको भाँडो) देखि १०–१२ फिटसम्मका अक्वारियम पाइन्छन्। आफूलाई उपयुक्त आकार–प्रकारको अक्वारियम अर्डर गर्न पनि सकिन्छ भने बजारमा तयारी चिनियाँ अक्वारियम पनि उपलब्ध छन्।

Laxmi sunrise bank
kumari
युवा पुस्ताले पनि माछामा रुचि देखाएका कारण अक्वारियमको व्यापार पनि बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन्।

अक्वारियममा हाल्ने माछा विशेष प्रविधिबाट हुर्काइएको हुन्छ। अक्वारियममा हुर्किने माछा खोला वा ठूला पोखरीमा बाँच्दैनन्। काठमाडौंमा झण्डै पाँच सय वटा अक्वारियम पसल भएको अनुमान छ । पाटनका गल्लीमा पनि थुप्रै अक्वारियम पसल छन्, जहाँ थरीथरीका रंगीबिरंगी माछा पाइन्छ। तिनैमध्येको एक हो सी वर्ल्ड अक्वारियम। 

पसलका सञ्चालक ३५ वर्षीय बली देउला पाँच वर्षदेखि यस व्यवसायमा छन्। उनलाई सानैदेखि माछा पाल्ने रहर थियो। पछि यसैलाई व्यवसाय बनाए। उनको रहरलाई व्यवसाय बनाउन श्रीमती लिला तामाङले पनि साथ दिएकी छिन्। उनको पसलबाट मुख्यगरी गोल्ड फिसका अनेकौं जातहरु, पिराना, साइपर, प्यारोट, ओस्कार, ग्याप्पीजस्ता माछा बढी बिक्री हुन्छन्।

सोखको रुपमा सजावटको लागि पालिने यस्ता माछा नेपालमै उत्पादन हुँदैनन्, विदेशबाट आयात गरिन्छन्। यी माछा भारत, थाइल्यान्ड र चीनबाट आउँछन्। प्यारोट प्रजातिको माछाको मूल्य महँगो छ, जसको मूल्य जोडीको १२ सय ५० रुपैयाँ पर्छ। मली, स्मलगोपी, सर्टटेलजस्ता माछा पनि महँगाको सूचीमा पर्छन्।

कत्तिको गाह्रो छ त घरमा माछा पाल्न? ‘माछा पाल्न खास गाह्रो छैन। माछालाई सामान्य दानाहरु दिए पुग्छ,’ देउला भन्छन्, ‘माछालाई प्रायः प्रोटिन र नर्मल पेलेट दाना ख्वाउनु पर्छ।’

माछाको खाद्य सामग्री बजारमा सुपथ मूल्यमै उपलब्ध छ। त्यसबाहेक १५–२० दिनमा अक्वारियमको पानी फेर्नुपर्छ। ‘माछा पालिएको पानीमा अक्सिजन पुगेको छ कि छैन, माछालाई पुग्दो प्रकाश छ कि छैन भन्ने पनि विचार गर्नुपर्छ। फिल्टरको अवस्था पनि बेला बेलामा बुझ्नुपर्छ,’ देउलाले सुझाए। फिल्टरले अक्वारियमभित्रको पानी सफा राख्ने हुँदा यसको महत्वपूर्ण भूमिका हुन्छ। 

माछाका लागि स्पन्ज, क्यान्डिल सस्तोदेखि महँगो थुप्रै प्रकारका फिल्टर पाइने एक्वा डिजायरका सञ्चालक ३२ वर्षीय विक्रम पाख्रिन बताउँछन्। ‘सोखको यो माछापालनमा युवा नै आकर्षित देखिएका छन्,’ पाख्रिन भन्छन्। उनी १४ वर्षदेखि अक्वारियम व्यवसायमा छन्। उनको पसलमा तेत्रा, गोल्ड फिसका थुप्रै प्रजाति, सिगलेट, सोटेल, गोप्पी, एन्जल फिसलगायत सानाठूला माछा छन्।

अक्वारियम आकर्षक बनाउन रुख, बोटबिरुवा, घाँस, ढुंगा आदि थुपै्र सामग्री राख्न सकिने उनी बताउँछन्। उनले माछाको दाना पनि भारत, चीन र थाइल्यान्डबाट आउने गरेको बताए।

सोखका लागि पालिने यस्तो माछा हेरचाहमा अर्कै आनन्द र लगाव हुने सम्बद्धहरु बताउँछन्। यसले मानिसलाई तनावमुक्त हुन पनि सहयोग पुर्याउँछ।

कत्तिको गाह्रो छ त घरमा माछा पाल्न? ‘माछा पाल्न खास गाह्रो छै । माछालाई सामान्य दानाहरु दिए पुग्छ,’ देउला भन्छन्, ‘माछालाई प्रायः प्रोटिन र नर्मल पेलेट दाना ख्वाउनु पर्छ।’

लोकन्थलीका साइराज बुढाथोकीले घरमा माछा पाल्न थालेको आठ वर्ष भयो। उनका अनुसार घरमा माछा पाल्दा सबैभन्दा गाह्रो पानीमा अक्सिजनको मात्रा मिलाइराख्नु हुन्छ। ‘जाडोमा पानी चिसो हुँदा अक्वारियमभित्रै राखिने हिटर बालिन्छ। त्यसो गर्दा पानीमा अक्सिजन कम हुन्छ,’ उनी भन्छन्, ‘त्यस्तो बेलामा भने याद गर्नुपर्ने हुन्छ।’

उनका अनुसार कुनै माछा शाहाकारी हुन्छन् भने कुनै मांसाहारी। कुनै शान्त प्रकृतिका हुन्छन् त कुनै आक्रामक। ‘आक्रामक खालका माछाले अरु माछाको पुच्छर टोकिदिने, आँखा खाइदिने गर्दा रहेछन्। माछा हाल्दा त्यो पनि विचार गर्नुपर्ने रहेछ,’ उनी भन्छन्।

कोरोना महामारीको प्रभाव अरु व्यवसायमा जस्तै अक्वारियम व्यवसायमा पनि परेको छ। लकडाउनले व्यवसाय ‘डाउन’ भएको अक्वारियम व्यवसायी बताउँछन्। 

ध्यान दिनुपर्ने कुरा

– अक्वारियम सन्तुलन मिलेको ठाउँमा राख्नुपर्छ।

– अक्वारियममा सधैं सफा पानी राख्नुपर्छ।

– बेलाबेलामा पानी फेर्नुपर्छ, तर एकैपटक सबै पानी निकाल्नु हुँदैन।

– अक्वारियम उज्यालो ठाउँमा राख्नुपर्छ।

– अक्वारियम अड्याउन थर्मकोल वा म्याट प्रयोग गर्नुपर्छ।

– अक्वारियममा बारम्बार हात हाल्नु हुँदैन।

– माछालाई चाहिनेभन्दा बढी आहारा पनि हाल्नु हुँदैन। 

– रिसाहा र शान्त प्रकृतिका माछा एउटै अक्वारियममा राख्नु हुँदैन। 

– हिटर, एसी वा फ्यानको छेउमा अक्वारियम राख्नु हुँदैन।

प्रकाशित: Sep 26, 2021| 13:08 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्