काठमाडौं– निधारमा रातो टीका, पहेंला जमरा अनि मान्यजनबाट दक्षिणास्वरुप हातमा नयाँ नोट। दसैंको यो एउटा महत्त्वपूर्ण पक्ष हो।
केही दशकदेखि नेपाली समाजमा दसैंमा नयाँ नोट प्रयोग अनिवार्यजस्तै हुँदै आएको छ। नेपाल राष्ट्र बैंकले पनि दसैंलाई लक्षित गरेर नै नयाँ नोट सार्वजनिक गर्दै आएको थियो।
घटनास्थापनको केही दिनदेखि बजारमा मात्र होइन, बैंक तथा वित्तीय संस्थामा पनि नयाँ नोट साट्नेको भीड देखिन्थ्यो।
यसपालि बैंक तथा वित्तीय संस्थामा नयाँ नोट साट्न जानेको चहलपहल छैन। कारण– राष्ट्र बैंकले नयाँ नोट नै बजारमा ल्याएन। कोरोना भाइरस संक्रमण जोखिमका कारण राष्ट्र बैंकले नयाँ नोट नदिने भएको हो।
उपभोक्तालाई नरमाइलो लागेको छ। काभ्रे पाँचखालकी रोजिना ढकाल नयाँ नोट साट्न नपाउँदा खल्लो लागेको बताउँछिन्।
भन्छिन्, ‘नयाँ नोट साट्न राष्ट्र बैंकमा लाम लाग्दा महान् चाड दसैं नजिकै आएको अनुभव हुन्थ्यो।’ उनी गाउँका आफन्तलाई नोट साटेर लगिदिन्थिन्। घरसम्म जाँदा मात्र भए पनि झोलाभरि नयाँ नोट बोक्दा भिन्नै आनन्द आउने उनको अनुभव छ।
कागजी नोटको सुरुवात नै दसैंदेखि
नेपालमा कागजी नोटको सुरुवात दसैंका बेला भएको इतिहास छ। तत्कालीन राजा त्रिभुवनले २००२ साल असोजमा कागजी नोट प्रचलनमा ल्याएका हुन्। सोही समयदेखि प्रत्येक दसैंमा नयाँ नोट प्रचलनमा ल्याउने गरिएको नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर राणा बताउँछन्।
उनका अनुसार नेपालमा पहिलोपटक पाँच, १० र एक सय रुपैयाँका नोट चलनचल्तीमा ल्याइएको थियो। त्यसअघि भारतीय नोट र न धातुका सिक्का प्रयोग हुन्थ्यो।
२०१३ सालमा राष्ट्र बैंकको स्थापना भएपछि भने नेपाली नोट प्रयोगमा जोड दिइएको हो।
दसैंमा नयाँ नोट बजारमा ल्याउनुको अर्को आर्थिक पक्ष पनि छ। नेपालमा अन्य बेलाभन्दा दसैंमा नगद कारोबार निकै बढ्छ। अर्थतन्त्र चलायमान हुन्छ। त्यसैले नोटको माग बढ्छ। माग धान्न राष्ट्र बैंकले हरेक दसैँकाे अवसर पारेर नयाँ नोट छाप्ने गरेको छ।
नयाँ नोट दसैंपछि
यस वर्ष गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ५ र १० रुपैयँका ४० करोड (पाँच रुपैयाँका २० करोड र १० रुपैयँका २० करोड) नयाँ नोट दसैँपछि मात्र बजारमा आउनेछ।
राष्ट्र बैंककाे मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले नोट पर्याप्त रहेकाले दसैंमा नयाँ नोट अभाव नहुने बताए। यद्यपि राष्ट्र बैंकले विगतमा जसरी नयाँ नोट सटही गर्न दिएको छैन। कोरोना महामारीका कारण भीडभाड बढ्न सक्ने भएकाले बैंकबाट नयाँ नोट सहटी नगरिएको नेपाल बताउँछन्।
तीन–तीन वर्षमा छापिन्छ नोट
सामान्यतया नेपाली नयाँ नोटको आयु पाँच वर्षको हुन्छ। तर राष्ट्र बैंकले तीन–तीन वर्षमा नोट छाप्दै आएको प्रमुख नेपालले जानकारी दिए। उनका अनुसार एक पटक हजारको नोट छाप्दा तीन वर्षसम्म अर्को हजारको नोट छापिँदैन।
उनले भने, ‘राष्ट्र बैंकले नयाँ नोट छाप्दा तीन वर्ष तीन महिनाको मागको प्रक्षेपण गर्छ। सोहीअनुसार नोट छाप्न ग्लोबल टेन्डर आह्वान गरेर विदेशी छापाखानामा पठाउँछ। सबै नोट एउटै कम्पनीबाट छापिँदैन। विभिन्न दरका नोट भिन्नभिन्न समयमा छाप्न पठाउने भएकाले जति बेला छाप्ने हो सोही समयमा ग्लोबल टेन्डर आह्वान गरिन्छ।’
तीन खर्ब २९ अर्ब एकै पटक छापिन्छ
एक पटकमा करिब तीन खर्ब २९ अर्ब रुपैयाँका नोट छापिन्छ। त्यसका लागि दुई अर्ब ४४ करोड रुपैयाँ खर्च हुन्छ। हरेक नोटका लागि राष्ट्र बैंकले सुरक्षण राख्छ। चलनचल्तीमा रहेका मुद्रालाई ५० र सुन, चाँदीलगायत चल सम्पत्तिलाई ५० प्रतिशत सुरक्षण मानिन्छ।
‘नयाँ नोट छाप्न प्रतिपिस डेढ रुपैयाँदेखि एक रुपैयाँ ९८ पैसासम्म खर्च हुन्छ। यो लागत नयाँ नोट छाप्न अपनाइएको अन्तर्राष्ट्रियस्तरको ठेक्का प्रणालीपछिको हो,’ प्रमुख नेपालले भने।
अब नोटरहित कारोबार
केही वर्षयता नोटरहित कारोबार गर्नेको संख्या बढेको छ। प्रविधिको विकाससँगै धेरै कुरा डिजिटलाइज्ड भएका छन् भने कोरोना महामारीले धेरैलाई प्रविधिमैत्री बनाइदिएको छ। त्यसैले नोटरहित कारोबार त्यति कठिन छैन।
गएको चैतयता नोटरहित कारोबार गर्ने ग्राहकको संख्या ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ।
तर नेपालमा केही समस्या छन्, जसले गर्दा अहिल्यै नोटरहित कारोबारमा जान सक्ने अवस्था छैन। अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरको संख्या बढी छ।
६० प्रतिशत जनतामा मात्र बैंकिङ पहुँच छ। यस्तै ४० प्रतिशत नागरिकमा मात्र वित्तीय साक्षरता पुगेको छ। यसैले तत्काल नोटरहित कारोबार सम्भव नभएको विभागका प्रमुख नेपाल बताउँछन्।