काठमाडौं- लोकसेवा आयोग, शिक्षक सेवा आयोगलगायतका विभिन्न प्रतिस्पर्धात्मक प्रतियोगिताका तयारी कक्षा सञ्चालन गर्दै आएको एपेक्स एजुकेसन एकेडेमीले चिकित्सा शिक्षा तथा इन्जिनियरिङतर्फका तयारी कक्षा पनि सञ्चालन गर्ने भएको छ। शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एपेक्सका अध्यक्ष हरिप्रसाद पौडेलले छात्रवृत्तिका कार्यक्रमसहित यी दुवै विधाका तयारी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन्।
मेडिकल र इन्जिनियरिङ प्रवेश परीक्षा तयारीका लागि एपेक्समा भर्ना हुनै सबैलाई छात्रवृत्ति उपलब्ध गराइने पौडेलले बताए। प्रत्येक प्रदेशबाट ७-७ जना गरी ४९ जनालाई पूर्ण छात्रवृत्ति र बाँकी भर्ना हुने जति सबैलाई ५० प्रतिशत छात्रवृत्ति दिइने उनको भनाइ छ।
पूर्ण छात्रवृत्ति प्राप्त गर्नका लागि भने संस्थाले निश्चित मापदण्ड बनाएको छ। यसका लागि कोरोना संक्रमित भएको सक्कल प्रमाणपत्र, सरकारी वा निजी विद्यालयबाट कक्षा ११ वा सीटीईभीटीबाट तीन वर्षे डिप्लोमा पूरा गरेको हुनुपर्नेछ।
छात्रवृत्ति कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि विद्यार्थीले भौतिक रुपमा वा एपेक्सको वेबसाइटमा गएर अनलाइनमार्फत आगामी कार्तिक १० गतेभित्र आफ्ना नाम दर्ता गराइसक्न एपेक्सले भनेको छ। छात्रवृत्ति छनौटका लागि कात्तिक १३ गते वस्तुगत मोडेलको परीक्षा हुनेछ।
एपेक्सले विगत २३ वर्षदेखि विभिन्न प्रतिस्पर्धात्मक प्रतियोगिताका तयारी कक्षा सञ्चालन गर्दै आएको छ। वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्रदान गर्न लागिएको एपेक्सको भनाइ छ।