काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल) को यस सिजनको पहिलो खेलमा नेपाली स्टार खेलाडी सन्दीप लामिछाने र कुशल भुर्तेलले आज (शनिबार) सम्झनलायक प्रदर्शन गर्न सकेनन्। पूरा चार ओभर बलिङ गरेका सन्दीपले एक विकेट पनि लिन सकेनन् भने कुशल भुर्तेल गोल्डेन डग आउट भए।
यी दुई खेलाडी अहिले नेपाली राष्ट्रिय टिमका निकै भरपर्दा खेलाडी हुन्। ओपनिङमा प्रशिक्षक डेभ ह्वाटमोरले निखारता ल्याएपछि पछिल्ला खेलहरुमा कुशलले क्रिकेट मैदानमा उत्कृष्ट समय बिताइरहेका छन्। तर, शनिबार दिउँसो पानीले भिजेको कीर्तिपुर मैदानमा खेलको पहिलो बलमै कुशल आउट हुन पुगे। दोस्रो ओभरमा ललितपुरले आजको खेलमा काठमाडौंविरुद्ध तीन विकेट गुमाएको थियो।
‘त्यो तीन विकेटका कारण हामी २० रनले पछि परेका छौं भन्ने मेरो अनुमान छ। त्यो नगएको भए हामी खेललाई १८० को वरिपरि पुर्याउन सक्ने थियौँ,’ खेलपछि ललितपुरका कप्तान कुशल भुर्तेलले भने, ‘त्यसले टिममा अलिअलि प्रेसर पर्यो।’
ललितपुरले यसअघिको सिजनमा उपाधि जितेको थियो। यो वर्ष पनि उपाधि जित्ने लक्ष्य रहेको कुशल बताउँछन्। तर त्यसका लागि बलिङमा केही समस्या देखिएको हो? भन्ने प्रश्नमा उनी भन्छन्, ‘बलिङमा राम्रो सुरुआत गरेको हो। टिममा ओभरअल बलिङ पनि राम्रो नै छ। तर पनि काठमाडौंका दुई विदेशी खेलाडी रहमानुल्लाह र रायनले धेरै राम्रो खेले।’
उनले आजको खेलमा हार बेहोरे पनि प्रतियोगितमा दबाब नरहेको बताएका छन्।
यता काठमाडौंका कप्तान सन्दीप लामिछानेले आज मैदानमा पानी परेर स्पिनरका लागि गाह्रो भएको बताए। ‘पानी परेपछि विकेट चाहिँ स्टिक भइरहेको थियो। अनि ब्याटिङमा राम्रो आइरहेको थियो। आज हरेक स्पिनरका लागि गाह्रो नै थियो,’ सन्दीपले भने। आफूले जित निकालेकोले खुसी रहेको उनले बताए।
काठमाडौंका कप्तान सन्दीप लामिछानेले आज मैदानमा पानी परेर स्पिनरका लागि गाह्रो भएको बताए। ‘पानी परेपछि विकेट चाहिँ स्टिक भइरहेको थियो। अनि ब्याटिङमा राम्रो आइरहेको थियो। आज हरेक स्पिनरका लागि गाह्रो नै थियो,’ सन्दीपले भने।
क्रिकेट टिम गेम भएकाले एक जनाले मात्र विकेट लियो वा लिएन भन्नु भूल हुने सन्दीपको तर्क छ। उनी भन्छन्, ‘यो टिम गेम हो। मरो लागि यो टिमको जित हो। एक विकेट लिएर पनि वा एक विकेट नलिईकन पनि टिमले जित्छ भने फिल्डिङमा वा कतै न कतै मैले पनि सहयोग गरिरहेकै हुन्छु,’ सन्दीपले भने।
उनले कीर्तिपुरको मैदानमा ललितपुरलाई १५७ मै समेट्न सक्नु नै जितसम्मको पहिलो यात्रा रहेको बताए। ‘तर हामीले थोरै रनको प्याक गर्न सक्यौँ। हामीले यो पिचमा धेरै समयबाट खेलिरहेको हुनाले लक्ष्य पछ्याउनलाई १५८ धेरै थिएन। पछि हाम्रा ब्याट्सम्यानले खुलेर खेले,’ उनले थपे।
काठमाडौंका लागि रहमानुल्लाह गुबज र रायन बुर्लले अर्धशतक बनाएका थिए। ३४ बलको सामना गरेका बर्लले सात छक्का र तीन चौकासँगै ७३ रन बनाए।
काठमाडौंमा बुधबार पहिलो पटक ओर्लिएका पाकिस्तानी पूर्व अन्तराष्ट्रिय खेलाडी साहिद अफ्रिदीले आज नेपाली माटोमा पहिलो पटक क्रिकेट खेले। काठमाडौं किंग्स इलेवेनको टिमबाट मैदान उत्रिएका अफ्रिदीले पहिलो पटक नेपालको सर्वाधिक लोकप्रिय क्रिकेट लि खेलेका हुन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा पाकिस्तानी खेलाडीको खेल हेर्न हजारौँको संख्यामा समर्थकको उपस्थिति थियो। ‘उनी निकै अनुभवी खेलाडी हुन्। टिममा अफ्रिदी हुनुले धेरै फरक पार्छ। हामी उनीबाट ज्ञान लिन खोजिरहेका छौं,’ सन्दीपले भने, ‘उनले मलाई टिमको डिसिजनमा पनि सहयोग गरे। उनीसँग जति ज्ञान लिन सक्छौं हामीलाई त्यति नै फाइदा हो।’
सायद धेरै समर्थकलाई लागेको थियो उनले आज छक्का र चौकाको वर्षा गर्नेछन्। तर, समर्थकलाई लागेजस्तो अफ्रिदीले ब्याटिङ गर्ने अवसर नै पाएनन्। तर ललितपुर प्याट्रिओट्सका बलरलाई काठमाडौं किंग्स इलेवेनका अर्का विदेशी खेलाडी रायन बर्लले भने छक्का र चौका वर्षाए। उनले विजयी चौका प्रहार गरेसँगै काठमाडौंले ललितपुरलाई ७ विकेटले हरायो।
१५८ रनको लक्ष्य पाएको काठमाडौंले १४।२ ओभरमा ३ विकेट गुमाउँदै १६० रन जोडेर लक्ष्य पूरा गरेको हो। गुरबजले ३६ बलमा ४ छक्का र चार चौकासहित ५९ रन बनाएका थिए।
खेलका प्लेयर अफ दि म्याचसमेत भएका रायनले गुरुबाजले राम्रो सुरुआत गरेकाले आफूले राम्रो फिनिसिङ गर्न सकेको बताएका छन्।
‘आज समर्थकको उपस्थिति निकै रोमाञ्चक थियो। त्यसले पनि रन बनाउन ऊर्जा दियो। हामी त्यसैका लागि त खेल्ने हो। अब आउँदो खेलमा पनि यस्तै प्रदर्शन गर्नेछु,’ उनले भने, ‘पहिले ठिक थियो। पानी परेपछि केही परिवर्तन भयो।’