काठमाडौं– कुनै बेला ललितपुर धोबीघाटका श्याम रजक दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णमा काम गर्थे। होटलमा काम गर्दैगर्दा उनलाई आफ्नो पाककलालाई व्यवसाय बनाउने सोच आयो। उनको सोचलाई साथीभाइले हौसला दिए। अनि सात वर्षदेखि काम गरिरहेको होटलसँग बिदा भएर आफ्नै ‘होटल’ खोले– श्याम दाइको हाँसको छोयला पसल।
आफ्नो पसलमा उनले सुरुदेखि नै हाँसको छोयलालाई प्राथमिकता दिए। नाम नैै हाँसको छोयला राखे। दुई–तीन वर्षसम्म त पसलमा दैनिक सात–आठ जना मात्र ग्राहक आउँथे। आफ्नै घर भएकाले गुजारा चलेकै थियो।
विस्तारै हाँसको छोयलाको स्वादको समाचार फैलिन थाल्यो। टाढा टाढाबाट धाएरै श्याम दाइको पसलमा परिकार खान आउनेहरुको संख्या चुलिँदै गयो। अहिले अवस्था कस्तो छ भने दिनमा ७०–८० जना ग्राहक आउँछन्। सुरुसुरुमा उनले दिनको झण्डै दश केजी हाँसको मासु बेच्थे। अहिले परिकार पनि थपिएर लोकल कुखुराको मासु, खसीको टाउको र भुटन बेच्दै आएका छन्।
कोरोना महामारीले अरु धेरै व्यवसाय जस्तै श्याम दाइको छोयला व्यवसायमा पनि मन्दी लाग्यो। ‘रोगको डरले मान्छे नै घरमै बस्नुपर्ने भएपछि पसल खोल्ने कुरा भएन,’ उनले भने, ‘अहिले चाहिँ अलि अलि व्यापार हुन थालेको छ।’
कसरी बन्छ छोयला ?
हाँसको छोयला बनाउन सुरुमा उसिनेको हाँसको मासुलाई सानो–सानो चाना पारेर काटिन्छ र आगोमा पोलिन्छ। त्यसपछि अदुवा, लसुन, जिरा र खोर्सानीलाई मसिनो पारेर पिसिन्छ। पिँधेको मसलामा मेथी झानिन्छ र सो मसलालाई मासुसँग राम्ररी मिसाइन्छ।
प्रायः छोयला आलु, अचार, भटमास र चिउरासँग खाइन्छ। पारखीहरुले आफ्नो इच्छाअनुसारको पेय पदार्थ पनि लिने गरेका छन्।
विगतमा धोवीघाटमा उनको मात्रै छोयला पसल थियो। नाफाले बजार विस्तार गर्छ भन्ने सिद्धान्तअनुसार अहिले अन्य साथीभाइले पनि हाँसको छोयला पसल खोलेका छन् त्यही क्षेत्रमा।
‘पहिला हाँसको छोयला बेच्ने म मात्र थिएँ। तर अहिले उस्तै–उस्तै नाम राखेर अरु पसल पनि खुलेका छन्,’ उनले बताए। उनले सुरु गरेको व्यावसायिक ‘युक्ति’ले अरुलाई पनि रोजगारी सिर्जना गरिदिएकोमा उनलाई सन्तुष्टि नै मिलेको छ।
कोरोना महामारीले अरु धेरै व्यवसाय जस्तै श्याम दाइको छोयला व्यवसायमा पनि मन्दी लाग्यो। ‘रोगको डरले मान्छे नै घरमै बस्नुपर्ने भएपछि पसल खोल्ने कुरा भएन,’ उनले भने, ‘अहिले चाहिँ अलि अलि व्यापार हुन थालेको छ।’
३५ वर्षदेखि आफ्नो व्यवसाय गर्दै आएका श्याम दाइ भन्छन्, ‘मेहनत, लगन र परिवारको साथले एउटा नाम बनेको छ। कहाँकहाँका मान्छेहरु सम्झी–सम्झी आउँछन्। जे होस्, आफूले गरेको कामले सन्तुष्टि दिएको छ।’