काठमाडौं– इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके)को आयोजनामा तेश्रो राष्ट्रिय आईएफकेके तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ।
प्रतियोगितामा सातै प्रदेशका १ सय ७० खेलाडीको सहभागिता रहने आईएफकेकेका अध्यक्ष घनश्याम श्रेष्ठले जानकारी दिएका छन्। पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने छ।
पुरुषमा ३० केजीमुनि, ३५ केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि र ६५ केजीमुनि तौल समूहमा खेल हुने आईएफकेकेका ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए। महिलामा खुला तौल समूहमा भिडन्त हुने छ।
प्रत्येक तौलसमूहमा नगद पुरस्कारको व्यवस्था रहेको ब्रान्च चिफ लामाले जनाएका छन्। एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा खेलाइने छ।