आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विशाल ग्रुपको अर्को बदमासी : आफ्नै लगानीको कम्पनीबाट रेटिङ गराउँदै 

विशाल ग्रुपको अर्को बदमासी : आफ्नै लगानीको कम्पनीबाट रेटिङ गराउँदै 

म्याद नाघेका खाद्यवस्तु बजारमा पठाउने आयान र अमेजन डिस्ट्रिब्युटर्स सम्बद्ध व्यापारिक घराना विशाल ग्रुपका बदमासी एकपछि अर्को सार्वजनिक भइरहेका छन्। 
 |  बुधबार, असोज २१, २०७७
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बुधबार, असोज २१, २०७७

vianetvianet

काठमाडौं– म्याद नाघेका खाद्यवस्तु बजारमा पठाउने आयान र अमेजन डिस्ट्रिब्युटर्स सम्बद्ध व्यापारिक घराना विशाल ग्रुपका बदमासी एकपछि अर्को सार्वजनिक भइरहेका छन्। 

triton college

विशाल ग्रुपअन्तर्गतको कमला रोलिङ मिल्सद्वारा उत्पादित फलामे छड गुणस्तरहीन पाइएपछि गुणस्तर तथा नापतौल विभागले असार २६ गते उक्त मिल्समाथि कारबाही गर्दै ६ महिनाका लागि इजाजत रद्द गरेको थियो। 

अहिले विशाल ग्रुपको लगानीमा रहेको केयर रेटिङ नेपालले उक्त समूहकै लगानीका विभिन्न कम्पनीका ऋणको रेटिङ गरेको पाइएको छ। 

केयर रेटिङ नेपालमा केयर रेटिङ इन्डियाको ५१ प्रतिशत सेयर छ भने बाँकी ४९ प्रतिशत सेयर विशाल ग्रुप, ग्लोबल आईएमई बैंक, प्रुडेन्सियल इन्स्योरेन्स, इमर्जिङ नेपाल, रिइन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कम्पनीको छ। (लाइफ इन्स्योरेन्स र रि–इन्स्योरेन्समा विशाल ग्रुपकै लगानी छ।) 

क्रेडिट रेटिङ नियमावली २०६८ को दफा ३४ (१) बमोजिम क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मुख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्न पाइँदैन। 

National life insurance

त्यस्तै दफा ३४ को उपदफा (२) बमोजिम क्रेडिट रेटिङ संस्थाले आफ्नो मुख्य सेयरधनी वा मुख्य सेयरधनीको कुनै कम्पनीमा आधारभूत लगानी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ गर्न नपाउने उल्लेख छ। 

तर, उक्त व्यवस्थाविरुद्ध विशाल ग्रुपले आफ्नै लगानी भएको केयर रेटिङबाट १० वटा भन्दा बढी कम्पनीको क्रेडिट रेटिङ गराएको छ। 

नेपाल राष्ट्र बैंकले ५० करोड भन्दा बढीको ऋणमा रेटिङ अनिवार्य गरेको छ। त्यस्तै नेपाल धितोपत्र बोर्डले आईपीओ, एफपीओ, ऋणपत्र वा हकप्रद सेयर जुनसुकै जारी गर्दा पनि क्रेडिट रेटिङ अनिवार्य गराउनुपर्ने व्यवस्था गरेको छ। 

सोही व्यवस्थाअनुसार विशाल गु्रपले आफ्ना कम्पनीका ऋणहरुको रेटिङ गराउँदै आएको छ। तर, आफ्नै लगानी रहेको केयर रेटिङबाटै।  

आफ्नै लगानी रहेको कम्पनीबाट रेटिङ गराउनेलाई के कारबाही हुन्छ त? 

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी भन्छन्, ‘हामीले केयर रेटिङबारे आन्तरिक छानबिन गरिरहेका छौं। बदमासी गरेको पाइएमा धितोपत्र ऐनबमोजिम कारबाही हुन्छ।’ 

गिरीका अनुसार क्रेडिट रेटिङ विनियमावली अनुसार रेटिङ कम्पनीले छानबिनका क्रममा नियम उल्लंघन गरेको वा जानाजान गलत रेटिङ गरेको पाइएमा कम्पनी खारेजीसम्मको कारबाही हुन सक्छ। 

विशाल ग्रुपका कुन कम्पनीको रेटिङ कति ? 

१. यती ब्रुअरी प्राइभेट कम्पनी लिमिटेड  

यो कम्पनीले केयर रेटिङबाट २ बी प्लसको रेटिङ पाएको छ। यसको मतलब कम्पनीले लिएको ऋण मध्यम जोखिममा छ। सो कम्पनीले आफ्नो एक अर्ब ८५ करोड ऋणको रेटिङ गराएको थियो। यस कम्पनीको अध्यक्ष विशाल अग्रवाल हुन्। 

२. युनाइटेड डिस्ट्रिब्युटर्स 

यो कम्पनीको सात अर्ब १२ करोड रुपैयाँ ऋणको रेटिङ पनि केयर रेटिङले नै गरेको हो। उक्त कम्पनीले ए २ ग्रेडको रेटिङ (जोखिमरहित) पाएको छ। यस कम्पनीका प्रमुख अनुज अग्रवाल विशाल ग्रुपका निर्देशक पनि हुन्। 

यो त्यही कम्पनी हो जसबाट आयान र अमेजन डिस्ट्रिब्युटर्सलाई आपूर्ति हुने स्निकर्स चकलेट, ओरियो बिस्कुट, बोर्नभिटा, ट्याङ, लगायतका विभिन्न प्रकारका सामग्री म्याद नाघेपछि पुनः म्याद थपेर बजारमा पठाउन लागेको अवस्थामा प्रहरीले छापा मारेको थियो। 

३. एसियन डिस्ट्रिब्युटर्स प्रालि 

यस कम्पनीको रेटिङ पनि केयर रेटिङले नै गरेको हो। एसियन कम्पनीले आफ्नो ८७ करोड २० लाख रुपैयाँ ऋणको रेटिङ गराएको थियो। यसमा कम्पनीले थ्रिए रेटिङ दिएको छ। जुन कम्पनीको ऋणको जोखिम निकै कम हो भन्ने संकेत गर्दछ। यस कम्पनीका अध्यक्ष आशीषकुमार अग्रवाल हुन् भने आदित्यकुमार अग्रवाल निर्देशक हुन्। उनीहरु ग्लोबल ट्रेनिङ कन्सर्न लिमिटेडका निर्देशकसमेत छन् । ग्लोबल ट्रेनिङ कन्सर्न लिमिटेड विशाल ग्रुपद्वारा प्रवद्र्धित संस्था हो। 

४. भिजी अटोमोबाइल्स प्रालि

भिजी अटोमोबाइल्स प्रालिको पनि केयर रेटिङले एक अर्ब २४ करोड १० लाख रुपैयाँ बराबरको कर्जाको रेटिङ गरेको छ। भिजीले ए थ्री रेटिङ पाएको छ। जुन मध्यम जोखिममा परेको छ। यो कम्पनीका प्रमुख विशाल अग्रवाल ह्ुन्। उनी विशाल ग्रुपका डाइरेक्टर छन्। 

५. एनआईसी एसिया बैंक 

एनआइसी एसिया बैंकको पनि सोही कम्पनीले रेटिङ गराएको छ। बैंकले जारी गरेको चार अर्व ४० करोडको ऋणपत्रमा सो कम्पनीले ‘ए’ रेटिङ दिएको छ। जसले बैंक निक्कै राम्रो छ भन्ने देखिएको छ। यो पनि विशाल ग्रुपकै लगानीको बैंक हो। विशाल ग्रुपले आफ्नो वेबसाइटमा पनि एनआईसी एसियामा आफ्नो लगानी रहेको उल्लेख गरेको थियो। सो बैंकका अध्यक्ष तुलसीराम अग्रवाल हुन्। 

६. लाइफ केयर डिस्ट्रिब्युटर्स 

यो कम्पनीको एक अर्ब ४५ करोड रुपैयाँ बराबरको ऋणको रेटिङ पनि केयर रेटिङले नै गरेको छ। यस कम्पनीले पनि मध्यमखालको जोखिम भएको भनी ‘थ्री ए रेटिङ’ पाएको छ। यस कम्पनीको अध्यक्ष जमुना अग्रवाल छिन् भने म्यानेजिङ डाइरेक्टर सौरभ गुरुङ छन्। यो पनि विशाल ग्रुपअन्तर्गतको फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) अन्तर्गत नै रहेको देखिन्छ। 

७. ग्लोबल ट्रेडिङ कन्सर्न 

यस कम्पनीमा पनि विशाल ग्रुपको स्वामित्व छ। एक अर्ब ४९ करोड १० लाख रुपैयाँ बराबरको कर्जाको रेटिङ गराएको यस कम्पनीले पनि ‘ए थ्री’ रेटिङ पाएको छ । यो कम्पनीले विभिन्न देशबाट विभिन्न ब्रान्डका लिक्वायरको कारोबार गर्छ। कम्पनीमा विशाल अग्रवाल र आशीषकुमार अग्रवाल छन्। 

८. मेगा सिमेन्ट इन्ड्रस्ट्रिज प्रालि 

यस सिमेन्ट फ्याक्ट्री पनि विशाल ग्रुपको नै हो। यस कम्पनीको ६० करोड रुपैयाँ ऋणको रेटिङ भएको र ‘ए फोर’ रेटिङ पाएको छ। यस कम्पनीको ऋणमा जोखिम केही उच्च छ भन्ने देखिएको छ। यस कम्पनीका प्रमुख रमेशकुमार अग्रवाल हुन्। 

९.  कमला रोलिङ मिल्स प्रालि 

यो कम्पनी पनि विशाल ग्रुपअन्तर्गतकै हो। यस कम्पनीलाई असार २६ गते नेपाल नापतौल तथा गुणस्तर विभागले तीन महिनाका लागि इजाजत रद्द गरेको छ। गुणस्तरहीन रड उत्पादन गरेको भन्दै विभागले इजाजतपत्र रद्द गरेको हो। अझै पनि सो कम्पनी कारबाही भोगिरहेको छ। सो कम्पनीले दुई अर्ब ५२ करोड ६० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ। सो कम्पनीले समेत थ्री ए रेटिङ पाएको छ। यसको अर्थ यो कम्पनीको ऋण पनि मध्यम जोखिममा रहेको छ भन्ने हो। 

१०.  घोराही सिमेन्ट इन्डस्ट्री प्रालि 

सोही ग्रुपको लगानी रहेको यस कम्पनीको १२ अर्ब ७१ करोड चार लाख रुपैयाँ बराबरको ऋणको रेटिङ पनि केयर रेटिङले नै गरेको हो। सो कम्पनीको ऋणमा रेटिङ एजेन्सीले ‘थ्री ए’ दिएको छ। ‘थ्रीए’ भन्नाले कम्पनीको जोखिम मध्यम नै छ भन्ने हो। 

११. मैनावती स्टिल्स इन्ड्रस्ट्रिज प्रालि 

पटकपटक गुणस्तरहीन छड उत्पादन गरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागको कारबाहीमा परेको मैनावती स्टिल्स इन्ड्रस्ट्रिजको पनि केयर रेटिङले चार अर्ब ९६ करोड रुपैयाँ ऋणको रेटिङ गरेको छ। सो कम्पनीको ऋण पनि ‘एक थ्री’ रेटिङ पाएको छ। जुन मध्यम जोखिमको हो। त्यस्तै यो कम्पनीको लगानीकर्ता पनि विशाल ग्रुप अफ कम्पनी नै हो।  

१२. सौर्य सिमेन्ट इन्डस्ट्रिज प्रालि

यो कम्पनीको रेटिङ पनि केयर रेटिङले नै गरेको हो। यो कम्पनी पनि विशाल गु्रपअन्तर्गतकै हो। यसका प्रमुख सुलभ अग्रवाल हुन्। उनलाई कालो धनको कारोबार गरेको आरोपमा प्रहरीले पक्राउसमेत गरेको थियो। सो कम्पनीले १४ अर्ब १४ करोड २० लाख रुपैयाँको रेटिङ गराएकोमा यसले भने ‘फोर ए’ रेटिङ पाएको छ। यो उच्च जोखिम र लोन डिफल्ट हुने शंंकासमेत गरिएको छ। 

के भन्छन् केयर रेटिङका निर्देशक ? 

केयर रेटिङका निर्देशक डा. विनोद आत्रेयका अनुसार कुनकुन कम्पनीको रेटिङ गर्ने भन्ने अधिकार कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओको) हो। आत्रेयले भने, ‘नेपालको धितोपत्र बोर्डले जारी गरेको क्रेडिट रेटिङ नियमावलीअनुसार नै कम्पनीले काम गरेको छ।  ठूलै समस्या भएमा मात्र निर्देशकसम्म आउने गरेको छ, यसबारे म त्यति अपडेट भइनँ।’ 

तर केयर रेटिङ कम्पनीका हरेक रेटिङ भारतमा हुने र भारतका लगानीकर्तासँग विशाल ग्रु्पको राम्रो साँठगाँठ रहेकाले आफूले लगानी गरेका हरेक कम्पनीको रेटिङ ‘थ्री ए’ भन्दा कम नहुने गरी सेटिङ मिलाउने गरेको कम्पनी निकटस्थ स्रोतले बतायो। 

असोज १५ गते वाणिज्य विभागले आयान तथा अमेजन डिस्ट्रिब्युटर्सको गोदाममा छापा मारी करोडौंको म्याद नाघेका खाद्य सामग्री स्निकर्स चकलेट, वोर्नभिटा, बिस्कुट लगायतमा म्याद थपी पुनः सोही सामग्री बजारमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको थियो। त्यसपछि उसका विभिन्न कर्तुत बाहिर आइरहेका छन्।

म्याद गुज्रेेका अखाद्यवस्तु बजारमा पठाउने आयान र विशाल ग्रुपको यस्तो छ सम्बन्ध 

म्याद नाघेका खाद्यवस्तुमा नयाँ लेबल लगाएर बजारमा पठाउँदै विशाल ग्रुप, सीडीओ भन्छन्– बल्ल भेटेको ठूलो माछा छाडिन्न

म्याद नाघेका स्निकर्स,  प्रिंगल्स र बर्नभिटा जस्ता सामग्री बजार पठाउने अग्रवालसहित ८ जना रिहा

विशाल ग्रुपको वेबसाइट बन्द, कामदारका सोसल मिडिया अकाउन्ट डिएक्टिभ

प्रकाशित: Oct 07, 2020| 05:29 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्