काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको टिप्पणी गरेका छन् ।
उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भर्खरै आफूले सो पार्टीको निर्णय हेरेको तर पार्टीमा अझै पनि पदाधिकारी रिक्त रहेको पाएको टिप्पणी गरे।
उनले जुन पार्टी टुक्रिएर यति सानो भएको छ, उसैको नाम एकिकृत भन्दै नेपाल नेतृत्वको पार्टीको खिसी गरेका हुन्। माओवादी केन्द्रलाई ‘माके’ र माधवकुमार नेपालको पार्टीलाई ‘माने’ पार्टीको संज्ञा दिँदै ओलीले यी दुबैले फाटोको खेती गर्ने गरेको आरोप लगाए।
यस्तै एमाले अध्यक्ष ओलीले सरकारमा बस्नेहरुको मनभित्र मुटु होइन ढुंगा रहेको टिप्पणी गरे। पार्टीसम्वद्ध कर्मचारी संगठनको कार्यालयमा ताला लगाएकोमा विरोध गरेका उनले प्रहरीलाई कानुन उल्लंघन गर्ने संयन्त्रका रुपमा प्रयोग गरेको बताए।
आफूतिर नलाग्ने शिक्षकलाई दुर्गममा सुरुवा गर्न थालेको भन्दै उनले भने, ‘यिनीहरुको त मानवीय मन पनि छैन। यिनीहरुका छातीभित्र मुटु होइन ढुंगा रहेछ ढुंगा। त्यो पनि दर्शनढुंगा भन्छन् नि छिप्पिएको सेतो। त्यस्तो मुटु छ।’
ओलीले सरकारलाई सिस्नुको संज्ञा दिदै यसले जसलाई पनि पोलिरहेको टिप्पणी गरे। यसलाई तातो पानीमा हालेर खुइल्याउनु पर्ने भन्दै उनले आगामी चुनावपछि खुइलिने दाबी गरे।