विराटनगर– मोरङ केराबारी–९ को बुद्ध माविमा कक्षा १० मा अध्ययनरत दुर्गा बराल विद्यालयमा आएर पढ्न पाउँदा खुसी देखिए।
कोरोनाका कारण विद्यालय बन्द भएको झन्डै ६ महिनापछि स्कुल आउन पाउँदा उनमा खुसीको सीमा थिएन। उनलाई पढ्न नपाइएला कि भन्ने चिन्ता हटेको छ।
उनले भने, ‘विद्यालय खुल्यो, पढ्न पाइने भयो।’ धेरै समयपछि साथीहरु, शिक्षकसँग भेट्दा रमाइलो लागेको उनले बताए।
बुद्ध माविले विद्यार्थीको उपस्थितिमा आइतबारदेखि पठनपाठन सुरु गरेको छ।
कक्षा १० सम्म पठनपाठन गराउँदै आएको विद्यालयमा पाँच सय विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा दैनिक एक सय २५ विद्यार्थी उपस्थित हुने गरी कक्षा सुरु गरिएको विद्यालयका प्रधानाध्यापक छवि धमलाले बताए।
दैनिक तीन वटा कक्षाका सातै घण्टी पढाइ हुने उनले बताए। एक साताभित्र एकदेखि १० सम्मकै कक्षा सञ्चालन हुने व्यवस्था मिलाइएको छ।
उनले भने, ‘दैनिक तीन वटा कक्षा सञ्चालन गर्दा पनि सानो र ठूलो कक्षा मिलाएका छौं।’
मल्टिमिडिया प्रयोग गरी विद्यार्थीलाई नागबेली आकारमा ‘आइसोलेटेड’ गरी राखेर पठनपाठन सुरु गरिएको प्रधानाध्यापक धमलाको भनाइ छ।
विद्यार्थीले मास्क र फेससिल्ड अनिवार्य रूपमा लगाउनुपर्छ। स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न गाउँपालिकासँग छलफल गरेर कक्षा सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपालमानसिंह कार्कीले बताए।
केराबारी कोरोनामुक्त स्थानीय तह भएको र हाल संक्रमण नदेखिएकाले पठनपाठन सञ्चालन गर्नुपर्नेमा गाउँपालिकाले जोड दिएको उनले बताए।
विद्यालयले अभिभावकहरुसँग पनि सल्लाह गरेको छ। उनले भने, ‘नियमित पठनपाठन नहुँदा विद्यार्थी शैक्षिक स्तर खस्केला कि भन्ने चिन्ताले सतायो।’
केराबारी बाहिरबाट आउने शिक्षकले भने पीसीआर परीक्षण गरेर विद्यालय नजिकै कोठाभाडा लिएर बस्नुपर्नेछ।
छोराछोरी घरमा बस्दा भन्दा विद्यालयमा जाँदा सुरक्षित हुने देखिएको अभिभावक बताउँछन्।
सुरक्षा सावधानी अपनाएर बिद्यालय सञ्चालन हुँदा विद्यार्थीमा संक्रमणको डर नहुने अभिभावक मुना बरालले बताइन्।
विद्यालयले दैनिक सञ्चालन हुने कार्यतालिका तयार गरी विद्यार्थीलाई जानकारी गराएको छ।
एक दिन विद्यालय आएपछि त्यो विद्यार्थी पाँच दिनपछि आउने गरी पठनपाठनको तालिका बनाइएको छ।
विद्यार्थीलाई पाँच दिनको गृहकार्य दिइने गरिएको सहायक प्रधानाध्याक कञ्चन बुढाथोकीले बताए।
विद्यालयले लकडाउन लगत्तै अनलाइन कक्षा सुरु गरे पनि सबै विद्यार्थीको पहुँच नपुगेपछि टोल–टोलमा विद्यार्थी भेला गराएर समेत पढाएको उनले बताए।
अनलाइन र टोल–टोलमा गरिएको कक्षा पनि प्रभावकारी नभएपछि विद्यार्थीको उपस्थितिमा विद्यालयबाटै कक्षा सुरु गरिएको उनको भनाइ छ।