काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निकै तल्लो स्तरको गालीगलौजमा उत्रिएका छन्। दाहाल ओलीमाथि खनिनुको कारण नेकपा एकीकरण हुँदा भएको सहमति कार्यान्वयन नगरेकाले रहेछ। सोही प्रसंग कोट्याउँदै अध्यक्ष दाहालले बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएल भेलामा भने, ‘ओलीले अढाइ–अढाइ वर्ष प्रधानमन्त्री बन्ने सहमति तोडेपछि, पालोपालो अध्यक्ष बन्ने सहमति तोडेपछि विदेशीको अगाडि घुँडा टेक्न पुगे। त्यसैले ओली राष्ट्रिय आत्मसमर्पणवादी, प्रतिक्रान्तिकारी, फासिस्ट प्रतिनिधि हो।’
दाहालको गाली यतिमा सीमित रहने। उनले ओलीलाई घोडाबाट पछारेर बालुवाटारबाट निकालेको बताए। यस्तै दाहालले ओली प्रधानमन्त्री पदबाट हटेपछि बालुवाटार फर्कंदा तामझामका साथ गएको भन्दै आक्रोश व्यक्त गरे।
दाहालले भने, ‘बालुवाटारबाट बालकोट जाने भनेका त प्रधानमन्त्रीको त लास लिएर गएको जस्तै हो नि राजनीतिक रूपमा। अब उनले करोडौं खर्च गरेर बाजा ल्याएर जुलुस निकालेर गएका छन् त्यो दिन। मानौं जितेर बालकोट गएजस्तो। जन्त गाको जस्तो पो छ उनलाई त।’ दाहालले तानाशाह ओलीलाई बालुवाटारबाट बालकोट सारेको दाबी गरे। यस्तै अर्को प्रसंगमा दाहालले केपी ओली निरंकुश, स्वेच्छाचारी र एकाधिकारवादी चरित्र भएको आरोप लगाए।
‘मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन। दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो। तर गिदीमा गोबर भरिएपछि के गर्ने?’
आफूहरूले बालुवाटारबाट निकालेको भनेका दाहालले ओलीलाई दाहालले भगुवा र हरुवाको संज्ञा पनि दिए। उनले वाईसीएल कार्यकर्तालाई निर्देशन दिए, ‘आक्रामक ढंगले गाउँगाउँमा गएर यो कुरा भन्नुहोला, केपी हरुवा हो, केपी भगौडा हो, केपीलाई भगौडा पनि भन्न सकिन्छ। कम्युनिस्ट आन्दोलनबाट भाग्यो। मार्क्सवादबाट भाग्यो। समाजवादी बाटोबाट भाग्यो।’ यस्तै केपी जस्तो निरंकुश, अहंकारी र दम्भीलाई पार्टीका ७० प्रतिशत मिलेर निकालिदिएको पनि दाहालको भनाइ थियो।
दाहालले ओलीले राष्ट्र विरोधी, माक्र्सवाद विरोधी चरित्रलाई उदांगो गरेर पार्टीबाट निष्कासन गरेको दाबी पनि गरे। उनले भने, ‘त्यसकारण हामी विजेता हो, ऊ हरुवा हो। यो कुरा दिमागमा राख्नुहोला।’
राजनीतिशास्त्रका प्राध्यापक कपिल श्रेष्ठ भन्छन्, ‘कम्युनिस्ट पार्टीमा एकअर्काविरुद्ध गालीगलोजमा उत्रनु नयाँ होइन, कार्ल मार्क्सदेखि नै यस्तो प्रवृत्ति पाइन्छ। झन् नेपाली कम्युनिस्ट आन्दोलनमा यस्तो प्रवृत्ति सामान्य हो।’
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओलीलाई महान् नेता बन्ने अवसर भए पनि उनको बुद्धि नपुगेको दाहालको भनाइ थियो। दाहालले भने, ‘मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन। दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो। तर गिदीमा गोबर भरिएपछि के गर्ने?’ पशुपतिमा जलहरी राखेको प्रसंग उल्लेख गर्दै दाहालले ओली व्यक्ति नभएर दम्भी, अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति भएको आरोप लगाए।