शुक्रबार, असोज ४, २०८१

६ महिनापछि खुल्न थाले कर्णालीका स्कुल

कोरोना त्रास कायमै रहे पनि उच्च सतर्कता अपनाएर स्थानीय तहले स्कुल खोल्न थालेका छन्।
 |  सोमबार, असोज ५, २०७७
nespernesper

देव राना

देव राना

सोमबार, असोज ५, २०७७

सुर्खेत– कोरोना महामारीका कारण चैतदेखि बन्द कर्णालीका स्कुल खुल्न थालेका छन्। कोरोना त्रास कायमै रहे पनि उच्च सतर्कता अपनाएर स्थानीय तहले स्कुल खोल्न थालेका छन्। कालिकोट दैलेख, सल्यान र सुर्खेतका केही विद्यालय खुलेका छन्।

triton college

कालिकोटको पचालझरना गाउँपालिकाका सबै विद्यालय खुलेका छन्। असोज १ गतेदेखि नै गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन सुरु भएको हो।

पचालझरनामा आठवटा माध्यमिक विद्यालयसहित ३६ वटै विद्यालयमा पठनपाठन सुरु भएको हो। सामाजिक दुरी कायम गरेर गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन सुरु भएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए।

‘शैक्षिक सत्र खेर जान नदिन औपचारिक रुपमै विद्यालयमा पठनपाठन सुरु भएका छौं’, उनले भने, ‘गाउँमा संक्रमित छैनन्, कोरोना त्रास देखाउन आवश्यक छैन।’  संक्रमित नभएका सबै ठाउँमा विद्यालय खोल्न सकिन्छ उनको तर्क छ।

‘विद्यालयमा मात्रै कोरोना जाने होइन, बालबालिका त गाउँमा घुलमिल भएकै छन्’, उनले भने, ‘अब पनि कोरोना पूर्ण रुपमा हट्ला र विद्यालय खोलौला कुर्नु भनेको बालबालिकाको भविष्यमाथिको खेलवाड मात्रै हो।’

Metro Mart
vianet

सम्पूर्ण क्षेत्र खुल्ला गरेर विद्यालय बन्द गर्न नहुने उनको तर्क छ। तराईका जिल्लाबाहेकका अन्य ठाउँका शिक्षकलाई गाउँपालिकाले दुई महिनाअघि विद्यालयमा उपस्थित हुन आग्रह गरेको थियो।

गाउँपालिकामा आएका शिक्षकलाई १४ दिन क्वारेन्टिनमा बसालेर विद्यालयमा उपस्थित गराएको गाउँपालिकाले जनाएको छ।

तराईका शिक्षकलाई पनि कोरोना परीक्षण गराउने, २१ दिनसम्म क्वारेन्टिमा राख्ने र त्यसपछिमात्रै विद्यालयमा सहभागी गराउने गाउँपालिकाले भनाइ छ।

उसो त त्यहाँ हालसम्म एक पनि पनि कोरोना संक्रमित छैनन्। यसअघि सहर तथा विदेशबाट आउनेहरुलाई राख्न गाउँपालिकाले विभिन्न १२ वटा विद्यालयमा क्वारेन्टिन बनाएको थियो।

तर दुई महिनाअघि नै विद्यालय क्वारेन्टिन खाली गरिसकेको थियो। अब संक्रमित क्षेत्र गाउँ फर्किनेलाई राख्न १२ कोठे भवन बनाइएको छ।

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका र भगवतीमाई गाउँपालिकाले पनि पठनपाठन सुरु गरेका छन्। थोरै विद्यार्थी भएको स्कुलमा सामाजिक दुरी कायम गर्ने र धेरै विद्यार्थी भएको स्कुलमा आलोपालो गरेर पठनपाठन सुरु गरिएको चामुण्डा विन्द्रासैनी शिक्षा शाखा प्रमुख नवीन शाहीले जानकारी दिए।

त्यस्तै भगवतीमाई गाउँपालिकाले शिक्षकशिक्षिकाको कोरोना परीक्षण गरेर विद्यालय सञ्चालन गरेको छ।

शिक्षकको पीसीआर परीक्षण गरेको र विद्यार्थीको प्रत्येक साता स्वास्थ्य जाँच गराउने गरी विद्यालय सञ्चालन गरिएको भैरवी गाउँपालिकाका अध्ययक्ष दानबहादुर थापाले जानकारी दिए।

सुर्खेतको अम्मरज्योति माध्यमिक विद्यालय नेवारेले आवश्यक सुरक्षा सावधानी अपनाएर पठनपाठन सुरु गरेको छ।

‘प्रशासन विद्यालय खोल्ने निर्णय छैन, कसरी पढन पाठन गर्न सकिन्छ भनेर अभ्यास गरेका हौं’, प्राधानाध्यापक खगेन्द्र थापाले भने, ‘विद्यालय सञ्चालन गर्ने अनुमति दिए कक्षा ९ र १० मा थोरै विद्यार्थी राखेर पठनपाठन सुरु गर्न सकिन्छ।’

यद्यपि विद्यार्थी संख्या धेरै भएका कारण पठन पाठन गर्न मुस्किल पर्ने थापाले बताए।

‘कक्षा १० मा मात्रै चार सयभन्दा बढी विद्यार्थी छन्’, थापाले भने, ‘एउटा कक्षामा ३० जना विद्यार्थी राख्यो भने पनि ठाउँ अपुग हुन्छ।’ शैक्षिक सत्र खेर जान वैकल्पिक माध्यमबाट भए पनि पठनपाठन नियमित गर्नुपर्ने उनको भनाइ छ।

जुम्लामा विद्यालय खोल्न रोक

जुम्लाको चन्दननाथ नगरपालिकालाई भने गृह मन्त्रालय र जिल्ला प्रशास कार्यालयले विद्यालय सञ्चालनमा रोक लगाएको छ।

‘असोज ४ गतेदेखि पहिलो चरणमा प्राथमिक तकका विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय गरेका थियौं। तर गृह मन्त्रालयले तत्काल विद्यालय सञ्चालन नगर्न आग्रह गर्‍यो’, नगरप्रमुख कान्तिका सेजुवालले भनिन्, ‘गृह मन्त्रालय र जिल्ला प्रशासनको असहयोगका कारण विद्यालय सञ्चालन गर्न सकिनौं।’

आधारभूत तहमा विद्यार्थी संख्या कम भए कारण सामाजिक दुरी कायम गरेर पठनपाठन गर्न सकिने उनको तर्क छ।

सबै विद्यालयका प्राधानाध्यपक र जनप्रतिनिधि सम्मिलित नगर शिक्षा समितिको बैठकले विद्यालय खोल्ने तयार गरेको थियो।

सल्यानको दार्मा गाउँपालिकाले भने टोल सिकाइ केन्द्रमार्फत विद्यार्थी अध्ययन अध्यापन गराउँदै आएको छ। विद्यालयमा पठनपाठन गराउन समस्या भएपछि टोल सिकाइ केन्द्रमार्फत विद्यार्थीलाई पठनपाठन गराउन थालेको गाउँपालिकाका शिक्षा अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए।

प्रकाशित: Sep 21, 2020| 10:25 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्