काठमाडौं– उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियनकप २०२२ छनोट खेलमा सहभागी भएर आज बिहीबार नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। सहभागी भएको छनोट प्रतियोगितामा सामान्य सावधानी अपनाउन नसक्दा टोली प्रतियोगिताबाट नै बाहिरिन पुग्यो। जसको अर्थ टोलीमा अनुभवको कमी निकै नै खड्कियो।
उज्वेकिस्तानको भ्रमणलाई यादगार बनाउँदा बलिया टोलीमाथि नेपालले राम्रो प्रदर्शन गर्यो। यसमा कसैको दुईमत छैन। फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहेको फिलिपिन्समाथि अन्तिम मिनेटसम्म अग्रता लिए पनि कायम राख्न नसक्दा पराजित हुन पुग्यो। त्यहाँ टोलीको अनुभव कमी रहेको स्पष्टै देखिन्थ्यो।
दोस्रो खेलमा हङकङलाई गोलरहित बराबरीमा रोकेर पनि नेपालको अघिल्लो यात्रा बढ्न सकेन। पहिलो खेलमा नतिजा सुम्पिनु निकै दुर्भाग्य रह्यो। तर स्वदेश फर्किएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नयाँ खेलाडी भए पनि प्रदर्शन राम्रो गरेको भन्दै अनुभव दिलाउन धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताको खाँचो रहेको प्रतिक्रिया दिए।
दक्षिण एसियामा सस्मित हुँदै गरेको नेपालले एसियन छनोट खेल्नु एक ठूलो मौका र अनुभव संगाल्ने खेलको रुपमा पनि हेरिएको थियो। दक्षिण एसियामा बलियो टोलीमा गनिने नेपालले अपेक्षा अनुसार प्रदर्शन गरे पनि लिएको अग्रता कायम राख्न नसक्नु टोलीको कमजोरी भएको मुख्य प्रशिक्षक फिलिप्सले थपे।
यस्तै, नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले घुँडाको शल्यक्रिया गरेर आराम गरिरहेकी स्ट्राइकर सावित्रा भण्डारीको कमी टोलीमा निकै भएको प्रतिक्रिया दिइन्। कप्तान नगरकोटीले सावित्रा टोलीमा भएको भए प्रतियोगितामा नेपाली टोली छनोट हुने दाबी गरिन्।
भ्रमण समग्रमा राम्रो भएको तर छनोट हुने लक्ष्य भने अधुरो रहेको भन्दै उनले दुःख व्यक्त गरिन्। टोलीले राम्रो खेले पनि आगामी दिनमा अझै अगाडि बढ्न टोलीको मेहनत धेरै खाँचो रहेको उनले बताइन्। फिलिपिन्सविरुद्धको खेलमा लिड गरिरहे पनि अन्तिमतिर टोलीले लयलाई निरन्तरता दिन नसकेकाले नतिजा सुम्पिनुपरेको उनको भनाइ छ।
उनको प्रतिक्रियासँगै नेपालको कमी कमजोरी पनि छर्लङ्ग देखिएको छ। टोलीमा अनुभवको खाँचो पक्कै हो। सम्बन्धित निकायले टोलीको खेल विकासका लागि अन्तर्राष्ट्रिय भ्रमण तथा प्रतियोगिता धेरै भन्दा धेरै सञ्चालन गर्नुपर्ने देखिएको छ।