जनकपुरधाम– सिरहा जिल्ला कारागारका अधिकांश कैदीबन्दी कोरोना संक्रमित भएपछि कारागार प्रशासनदेखि प्रमुख जिल्ला अधिकारीसम्मको चर्को आलोचना भइरहेकोे छ।
संक्रमित कैदी र अन्य कैदीलाई बेग्ला बेग्लै व्यवस्था नगरिएपछि सीडीओ र जेलर थप आलोचित भएका छन्।
सिरहा कारागारमा कुल ५९९ जना कैदी छन्। तीन पटक गरिएको पीसीआर परीक्षणको आधारमा अहिलेसम्म ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। संक्रमण नभएका र संक्रमित कैदीहरुलाई एउटै भवनमा व्यवस्थापन गरिएपछि कारागारभित्र त्रासको माहोल छ।
आइसोलेसनको अभावका कारण कोरोना संक्रमित कैदीबन्दीलाई पनि कारागार भित्रै व्यवस्थापन गर्नुपरेको जेलर बबिता महतो बताउँछिन्।
सिरहा कारागारको जम्मा क्षमता १५० जनाको हो । तर यही ठाउँमा ५०० जनालाई कोचिएको छ। यस्तोमा भौतिक दूरी कायम गराउन सम्भव हुने कुरै भएन। जेलर महतो भन्छिन्, ‘भौतिक दूरी कायम गराउन नसकिए पनि अलग अलग राख्ने व्यवस्था मिलाएका छौँ। दूरी कायम गराउन नसकिएका कारण कारागारभित्र त्रासको वातावरण छ। हामी व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ।’
जेलर महतोका अनुसार संक्रमण नरहेका कैदीबन्दीले आफ्नालागि खाना अलग्गै बनाउँछन्। कारागारभित्र साना–ठूला गरी १४ वटा कोठा छन्। संक्रमित सबै कैदीबन्दीलाई ती कोठाहरुमा व्यवस्थापन गरिएको जेलर महतोले बताइन्। कोरोना संक्रमण नभएका कैदीलाई कारागारको छतमा बनाइएको टहरामा व्यवस्थापन गरिएको छ। शौचालय पनि बेग्लाबेग्लै व्यवस्थापन गरिएको छ।
संक्रमितहरुको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय र सिरहा नगरपालिकाको समन्वयमा मेडिकल टिम बनाइएको छ। मेडिकल टिममा एक जना चिकित्सक, २ जना अनमी र ४ जना अहेब छन्।
कोरोना विरुद्धको प्रतिकार्यका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले २० लाख रुपैयाँ दिएको थियो। औषधि, स्यानिटाइजर, पञ्जा, साबुन–पानी, पीपीई लगायतमा उक्त रकम खर्च भइसकेको र चालू आर्थिक वर्षको साउन र भदौ महिनाका लागि पनि बजेट पठाइदिने भनेर प्रदेश सरकारले आश्वासन दिएको जेलर महतोले बताइन्। यद्यपि प्रदेश सरकारले सो रकम अहिलेसम्म निकासा दिएको छैन।
कारागारका अधिकांश कैदीबन्दीमा संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकारी प्रदीप कंडेलले जानकारी दिए। कैदीहरु भाग्न सक्ने अवस्था रहेकोले पुरानो जिल्ला प्रशासन कार्यालयको भवनलाई कारागारकै रुपमा तयार पार्न लागिएको उनले बताए। भवनमा ग्रिल लगाउने, मर्मत सम्भार गर्ने लगायतका काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कंडेलको भनाई छ।
सिरहा कारागारमा गत साउन २४ गते २० देखि ५५ वर्षसम्मका ५९ जना पुरुष कैदीको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।
साउन २६ गते २० देखि ६० वर्षसम्मका १८ महिला र २ वर्षीय बालक गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै साउन २९ गते १४ देखि ३५ वर्षसम्मका १५ जना पुरुष तथा साउन ३० गते एक वर्ष देखि ६५ वर्षसम्मका १४७ पुरुष कैदीमा कोरोना संक्रमण पुष्टि भएको थियो।
भदौ ३१ गते सिरहा कारागारमै २५९ कैदीमा कोरोना संक्रमणको पुष्टि भएको थियो।