विराटनगर- प्रदेश १ मा आपराधिक कार्यमा बालबालिकाको संलग्नता बढ्दै गएको छ। जबरजस्ती करणी, कर्तव्य ज्यान, लागुऔषध तथा चोरीका घटनामा बालबालिकाको संलग्नता बढ्दै गएको पाइएको हो। आपराधिक कार्यमा बालबालिकाका संलग्नता बढ्नु चिन्ताको विषय भएको बालअधिकारकर्मीहरु बताउँछन्।
आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश १ मा १११ जना बालबालिका विभिन्न आपराधिक कार्यमा संलग्न भएर दोषी ठहर भई बाल सुधार गृहमा आएका थिए। ०७६ साउनदेखि ०७७ भदौ मसान्तसम्म १५८ जना बालबालिका विभिन्न आपराधिक कार्यमा संलग्न भएको पाइएको बाल सुधार गृह विराटनगरका प्रमुख मिलन चौहानले बताए।
जबरजस्ती करणीमा संलग्न बालकको संख्या बढी छ। ८४ जना बालक जबरजस्ती करणीमा संलग्न भएको पाइएको चौहानले बताए। उनका अनुसार भदौ मसान्तसम्म २० जना कर्तव्य ज्यान, १८ जना लागुऔषध, ७ जना चोरी, ६ जना अप्राकृतिक मैथुन, ६ जना ज्यान मार्ने उद्योग, ३ जना सवारी ज्यान, ३ जना जबरजस्ती करणी उद्योग र २ जना हत्या मुद्दामा संलग्न भएको पाइएको छ।
चौहानले बालविबाह, विस्फोटक पदार्थ र अपहरण तथा शरीरबन्धक मुद्दाका १-१ जना बाल सुधार गृहमा रहेको बताए। उनका अनुसार आपराधिक कार्यमा बालबालिकाको संलग्नता हरेक वर्ष बढ्दै गएको छ।
उनले भने, ‘बयस्कबाट हुने सक्ने कुनै पनि आपराधिक घटनाहरु बालबालिकाबाट भए त्यसलाई बाल बिज्याई मानिन्छ र अदालतबाट दोषी ठहर उनीहरुलाई निश्चित अवधिसम्म बाल सुधार गृहमा राखिन्छ।’
जबरजस्ती करणीमा बालकको संख्या बढ्दो क्रममा रहेको बालबालिकाका क्षेत्रमा कार्य गर्दै आएको सिविन विराटनगरका प्रमुख बासु अधिकारीले बताए। सन् २०२० मा मात्रै ११ वटा जबरजस्ती करणीका घटनाहरु सिविनमा दर्ता भएको उनले बताए।
जबरजस्ती करणीका घटनामा बालिकाहरु नै पीडित भएको अधिकारीले बताए। उनका अनुसार लागुऔषध र चोरीमा पनि बालबालिकाको संलग्नता बढ्दै गएको छ। लकडाउनपछि चोरीका घटनामा बालबालिकाको संलग्नता बढेको अधिकारीले बताए।
बालबालिकाका सामान्य कौतुहलताका विषयहरु अभिभावकले नभन्ने गर्दा पनि समस्या देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका बाल अधिकार श्रोत व्यक्ति सुमन अधिकारी बताउँछन्।
इन्टरनेटका कारण पनि बालबालिकाहरु आपराधिक कार्यमा संलग्न हुन पुगेको उनले बताए। इन्टरनेटमा विभिन्न कुराहरु हेर्ने, समान उमेरका साथीलाई कुराहरु सुनाउने, प्रयोग गर्ने गर्दा पनि समस्या बढेको अधिकारीले बताए। घरमा बालमैत्री व्यवहार हुन आवश्यक रहेकोमा उनले जोड दिए।