बुधबार, चैत ११, २०८२

बालबालिकालाई मानसिक समस्याबाट कसरी जोगाउने ?

मानसिक समस्या भएपछि बालबालिकामा भावनात्मक र शारीरिक परिवर्तन देखिन्छन्।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

महामारीको समयमा आत्तिनु, डराउनु, त्रसित हुनुलाई सामान्य प्रतिक्रियाको रुपमा लिनुपर्छ। अहिले कोरोना महामारीले बालबालिकाको मानसिक स्वास्थ्यमा असर परेको छ, जसले गर्दा अभिभावक चिन्तित छन्।

National life

कोभिड–१९ सँग बालबालिका पनि धेरै डराएका छन्। पारिवारिक तथा सामुदायिक वातावरणले पनि उनीहरुलाई त्रसित बनाइदिएको छ। स्कुल जान नपाएका कारण उनीहरु घरभित्रै छन्। लामो समयसम्म घरपरिवार र समुदायमा रहँदा घरपरिवार तथा समुदायमा भएका क्रियाकलापले बालबालिकाको मानसिक स्वास्थ्यमा असर पारेको छ।

बालबालिकाले प्रत्यक्ष रुपमा अभिभावकलाई भएका समस्या देख्न पाएका छन् र समुदायमा भएका घटनाको पनि प्रत्यक्षदर्शी भइरहेका छन्। साथै समुदायमा भएका हत्या–हिंसा, लान्छना, भेदभाव जस्ता क्रियाकलापले बालबालिकाको मानसिकतालाई प्रभाव पारेको हुन्छ। त्यस्तै कोरोनासम्बन्धी समाचारले पनि उनीहरु प्रभावित बनेका हुन्छन्। यसले गर्दा बालबालिकाको मानसिक स्वास्थ्यमा असर परिरहेको छ।

मानसिक समस्या भएपछि बालबालिकामा भावनात्मक र शारीरिक परिवर्तन देखिन्छन्। भावनात्मक लक्षणमा बालबालिका तर्सिने, आत्तिने, चिन्तित देखिने गर्छन् भने शारिरीक लक्षणमा टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, पेट दुख्ने, मुर्छा पर्ने, शरीर कमजोर हुनेजस्ता लक्षण देखिन्छन्।

डा. निना राई

बालबालिका तनावमा भएको बेला भावनात्मक भन्दा पनि शारीरिक समस्या देखाउँछन्। कुनै बालबालिकामा शारीरिक समस्या देखिएमा मानसिक समस्या पनि हुन सक्छ भनेर त्यसमा ध्यान दिनुपर्छ।

Laxmi sunrise bank
kumari

आनिबानीमा परिवर्तन हुँदा बालबालिका रिसाउने, जिद्दी हुने, ओछ्यानमा पिसाब फेर्ने, दुर्व्यसनमा पर्ने, आफैंलाई हानी पुग्ने काम गर्नेजस्ता लक्षण हुन्छन्।

यी समस्याबाट टाढा राख्नको लागि अभिभावकले बालबालिकालाई समय दिनुपर्छ। अहिले लकडाउन र कोरोना महामारीका कारण बालबालिकाको दैनिकी परिवर्तन भएको छ। त्यसैले अभिभावकले बालबालिकाको उमेर र बुझ्ने क्षमताको आधारमा उनीहरुको दैनिकी तयार गरिदिनुपर्छ। साथै उक्त दैनिकीलाई पालना गरे–नगरेको ध्यान दिनुपर्छ।

बालबालिकालाई मानसिक तनावबाट जोगाउन इनडोर गेम जस्तै– लुडो, चेस, क्यारिम बोर्ड खेल्नमा प्रोत्साहित गर्न सकिन्छ। उनीहरुको रुचीअनुसार नाच्ने, गाउने लगायतका क्रियाकलाप गर्न लगाउनुपर्छ। साथै बालबालिकाले सक्ने घरको काममा पनि लगाउन सकिन्छ।

अहिले इन्टरनेटमा बढी मात्रामा समय बिताएको हुनाले इन्टरनेट दुर्व्यसनको पनि जोखिम बढेको छ। उनीहरुले इन्टरनेटमा हेर्ने सामग्रीप्रति अभिभावकले ध्यान दिनुपर्छ। बालबालिकालाई मोबाइल, ट्याब्लेट बढीमा २ घण्टामात्र चलाउन दिनुपर्छ। अभिभावकले नै बालबालिकासँग सकेसम्म धेरै समय बिताउन पर्छ।

बालबालिकालाई आधिकारिक समाचार र कुनै महामारीको जानकारी दिँदा उनीहरुको उमेर अनुसार नै जानकारी दिनुपर्छ। उनीहरुको खानपान, सुत्ने तथा आराम गर्ने कुरामा ध्यान दिनुपर्छ। यति गर्दा बालबालिकालाई मानसिक समस्याबाट धेरै हदसम्म जोगाउन सकिन्छ।

तर यति गर्दा पनि लक्षण बढ्दै गएमा मनोचिकित्सकको परामर्श गर्नुपर्छ। बालबालिकाको शारीरिकमात्र होइन, मानसिक स्वास्थयमा पनि ध्यान उत्तिकै जरुरी छ।

(स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा आधारित)

प्रकाशित: Sep 16, 2020| 12:10 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्