काठमाडौं– कलंकीका विनोद रिमाल स्कुल पढ्दै गर्दा टोलमा ‘नामी गुण्डा’ भइसकेका थिए। परिवारलाई सामान्य खान–लाउन पुगेकै थियो, भविष्यमा के गर्ने कुनै योजना थिएन।
‘टोलमा स्याने गुण्डा नामले चर्चित भए पनि मेरो महत्त्वाकांक्षा बेग्लै थियो। वरपरको परिस्थिति र आफ्नै अवस्थाप्रति चित्त बुझिरहेको थिएन,’ रिमाल भन्छन्।
पढाइ गतिलो नभएको र गुण्डागर्दी बढ्दै जान थालेपछि छोरो सुध्रिएला भनेर अभिभावकले प्रहरीमा जागिर खान दबाब दिए। भर्खर एसएलसी सक्काएका थिए उनले। त्यसै बेला सशस्त्र प्रहरीमा भर्ना खुल्यो। ‘ज्यान राम्रै थियो, छनोट भएँ,’ रिमाल भन्छन्, ‘त्यसपछि नचाहेरै पनि सात वर्ष बिताएँ नि सशस्त्रमै।’
सरुवा भएर देशका विभिन्न ठाउँमा पुगे उनी। पुरानो संगत छुट्यो। तर जागिरबाट सन्तुष्टि मिलेन। अरू काम गर्न अध्ययन थिएन। व्यवसाय गर्न पैसा पर्याप्त नभएपछि जागिर छाडेर दुबई हान्निए उनी।
‘दुबईमा इत्तेहाद एअरवेजमा सेक्युरिटीको काम गर्थें। कमाइ राम्रै थियो। महिनाको तीन लाखसम्म कमाएँ,’ उनी भन्छन्। पैसा त आउन थाल्यो तर, जीवनमा अझै केही नपुगेजस्तो लागिरह्यो। दुई वर्ष नपुग्दै उनी त्यहाँ पनि रमाउन छोडे।
‘एउटा कोठामा चार जना बस्ने, दुबईको गर्मीमा बुट बजार्ने। यसका लागि म बनेकै होइन जस्तो लाग्थ्यो,’ रिमाल भन्छन्, ‘जीवन अझै सुविधापूर्ण र आनन्दमय होओस् जस्तो लाग्थ्यो।’
त्यसपछि उनले युरोप जाने योजना बनाएर घर फर्किए। धेरै समय कुर्नु परेन, नक्कली बिहे गरेर डेनमार्क पुगे।
‘युरोप जाने योजना बनाउँदा सपना बेग्लै थियो तर, पुगिसकेपछि यथार्थ निकै फरक भइदियो,’ उनी भन्छन्, ‘रेस्टुरेन्टमा भाँडा माझ्ने र पोछा लगाउने काम गर्नुपर्दा निकै दिक्क लाग्यो।’
डेनमार्क पुगेको ७–८ महिनामै मनस्थिति निकै बिग्रिसकेको बताउँछन् उनी। एउटा रेस्टुरेन्टमा जापानी सुसी बनाउने कामले झन् दिक्क लाग्यो। डेनमार्क जानुअघि उनले बिहे पनि गरिसकेका थिए– पहिलेदेखिकी प्रेमिकासँग। पत्नी पनि डेनमार्क पुगिसकेकी थिइन्। उनी त्यहाँ पनि टिकेनन् र एक वर्ष नपुग्दै फर्किए।
‘नेपाल फर्किएपछि पो बेहाल भयो मेरो,’ रिमाल भन्छन्, ‘पैसा खर्च गर्ने र साथीहरूसँग मोजमस्ती गर्ने बानी लागिसकेको थियो।’ साथीहरूको डफ्फा लिएर देशभरका पर्यटकीय क्षेत्रमा पुग्थे उनी। कमाएको पैसा सकिन थाल्यो।
केही साथीहरूको सहयोगमा चिनियाँ कपडाको होलसेल व्यापार थाले। ‘रातभर निद्रा पर्दैनथ्यो, मोबाइलमा युट्युब हेरेर बस्थें,’ उनी भन्छन्।
त्यही क्रममा उनलाई युट्युबमा देखेको टर्की पालनको भिडियोले तान्यो। विदेशको कुनै भिडियो थियो त्यो। उनलाई लाग्यो– अब यही गर्ने हो।
नेपालमा टर्की पालन कहाँ कहाँ छ भनेर सोधखोज गर्न थाले। चितवन र पोखरा पुगे। पोखराका व्यवसायीबाट आधारभूत जानकारी लिएर टर्की पालन सुरु गरे।
‘पोखरामा पाएको जानकारीबाहेक सबै इन्टरनेट र युट्युबकै भर थियो,’ उनी भन्छन्, ‘अब त अनुभवले पनि सिकाइसक्यो।’
कलंंकीबाट केही उत्तर खड्कागाउँमा १२ रोपनी जग्गा भाडामा लिएर उनले टर्की पालन गरेका छन्। उनको फर्ममा अहिले करिब ३५० टर्की, १०० लोकल कुखुरा, ५०० बट्टाई र केही कालिज छन्। एक महिनाअघि टर्की ८०० थिए, ती बिक्री भइसके। अब नयाँ चल्ला हुर्कंदै छन्।
दुई वर्ष भयो रिमालले टर्की पाल्न थालेको। मासिक करिब तीन लाख कमाइ भइरहेको उनी बताउँछन्। उनले त्रिशूलीमा पनि टर्की र लोकल कुखुरा पाल्न थालेका छन्। भक्तपुरमा फार्म खोल्ने र काठमाडौंको फार्मलाई रिसोर्ट–रेस्टुरेन्टमा रूपान्तरण गर्ने उनको योजना लकडाउनले थाती छ।
रिमाल भन्छन्, ‘खाडीदेखि युरोेपसम्म पुगेंं, मनमा शान्ति थिएन। अहिले यी पक्षीसँग रमाएको छु। शान्त परिवेशमा चरालाई चारो हाल्दै समय बितेको पत्तो हुँदैन। आनन्द छ। कमाइ पनि राम्रो छ।’
अहिले आफ्नो उत्पादन बेच्न कतै भनसुन वा विज्ञापन गर्नु नपरेको उनी बताउँछन्। फेसबुकमा मात्रै विज्ञापन गर्ने हो भने पनि माग धान्न नसकिने उनको भनाइ छ। सबै स्थानीय स्तरमै बिक्री भइरहेको छ।
यद्यपि, सरकारी निकायबाट फार्मको अनुमति लिनका लागि धौ धौ परेको गुनासो छ उनको। भन्छन्, ‘स्थानीय सरकार होस् वा संघीय, तपाईंंले कि पैसा दिन सक्नुपर्यो कि चिनजान हुनुपर्यो नत्र नियमअनुसार केही पनि हुँदैन।’