सुर्खेत– ०७७ जेठ ५ गते। दैलेख आठबीसकोट नगरपालिकाका ३५ वर्षीय डम्मर नेपालीको जीवनमा ठूलो संकट पर्यो। जिन्दगी यतिकै रहेछ जस्तो लाग्यो। घरपरिवार, दौंतरीहरु सबैसँग टाढा हुनुपर्ने हो कि भन्ने भयो।
यसरी आत्तिनुको कारण उनलाई कोरोना संक्रमण भएको थियो। नआत्तिउन् पनि कसरी ! कोरोना लागिहाल्यो भने त बाँच्नै गाह्रो भन्ने हल्ला सुनेका थिए। उनी नै कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमित थिए।
‘सुरुमा त बाँचिदैन जस्तोे लागेको थियो,’ संक्रमित हुँदाको क्षण सुनाउँदै उनी भन्छन्, ‘कोरोना संक्रमणको खबर सुन्नेबित्तिकै छाँगाबाट खसेजस्तो भएँ, केही सोच्न सकिनँ।’ तर झण्डै तीन हप्तापछि उनले कोरोनालाई सहजै रुपमा जिते। ‘तातोपानी खाएँ, व्यायाम गरेँ। आत्मबल भए बाँचिदो रहेछ,’ उनले सुनाए।
संक्रमित भएपछि परिवारको हौसला पाए रोगलाई सजिलै जित्न सकिने उनको अनुभव छ। अन्य रोग जस्तो पटक–पटक चेकजाँच र औषधि उपचार नभएकै कारण दैलेखको आइसोलेसनमा हुँदा आत्तिएका थिए। उपचारको अभावमा मरिन्छ कि भन्ने ठानेर उनी दैलेख आइसोलेसनबाट प्रदेश अस्पतालको आइसोलेसनमा आएका थिए।
दैलेखको महाँवु गाउँपालिका–१ निवासी ८६ वर्षीया इन्द्रादेवी थापालाई पनि कोरोना संक्रमणपछि उस्तै कठिनाइ आइपर्यो। उनलाई दैलेख जिल्ला अस्पतालले प्रदेश अस्पताल रिफर गर्दा आफूलाई ठूलै रोग लागेको हो कि भन्ने ठानेकी थिइन्। साउन दोस्रो हप्ता कोरोना संक्रमण पुष्टि भएको १४ दिनपछि उनी कोरोना मुक्त भइन्।
श्वासवप्रश्वासको समस्या, प्यारालाइसिस र उमेर ढल्किसकेकी उनी बच्लिन् भन्नेमा डाक्टरहरु पनि ढुक्क थिएनन्। तर, भदौ २ गते ८६ वर्षीया इन्द्रादेवी कोरोनामुक्त भइन्। ‘मनलाई बलियो बनायो भने कोरोनालाई जित्न सकिने रहेछ,’ उनले भनिन्, ‘बाँच्नु लेखेको रहेछ, कोरानालाई जितेर घर फर्किएकी छु।’
संक्रमणमुक्त भएका अन्यको अनुभव पनि बिक र थापाको जस्तै छ। संक्रमित हुँदा पनि आवश्यक सुरक्षा सावधानी अपनाउँदा र आत्मबल बलियो बनाउँदा कोरोनालाई जित्न सकिने कोरोना जितेकाहरु बताउँछन्।
बरु घरपरिवार र समाजबाट हुने छोइछिटो र असमान व्यवहारका कारण मानसिक तनाव खेप्नुपरेको उनीहरुको अनुभव छ।