नयाँदिल्ली- भारतमा बनेको कोरोनाविरुद्धको खोप कोभिसिल्डलाई बेलायतले मान्यता दिन अस्वीकार गरेको छ। भारतीय खोपलाई मान्यता नदिएपछि भारतमा भने व्यापक विरोध भइरहेको छ।
भारतमा कोभिसिल्ड ७२ करोडभन्दा बढी डोज कोभिसिल्ड खोप लगाइसकिएको छ। यो खोप भारतमा सबैभन्दा बढी प्रयोग भएको खोप भएको बताइएको छ।
भारतले भने यसलाई बेलायतको 'विभेदकारी नीति' भनेको छ। यसका साथै भारतले कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएका भारतीय बेलायत जाँदा १० दिन आइसोलेसनमा बस्नुपर्ने व्यवस्था खारेज गर्नसमेत आग्रह गरेको छ।
अक्टोबर ४ बाट कार्यान्वयनमा आउने गरी बेलायतले केही समयअघि कोरोनासम्बन्धी नयाँ नियम घोषणा गरेको थियो। उक्त नियमअनुसार भ्याक्सिनको मात्र पूरा गरेका व्यक्ति विभिन्न देशबाट बेलायत पुगे सेल्फ क्वारेन्टाइन बस्न नपर्ने व्यवस्था गरिएको छ। तर उक्त सूचीमा भारत भने समावेश छैन। यसको अर्थ भारतमा दुवै डोज खोप लगाएर बेलायत गए पनि बेलायती नीति अनुसार उक्त व्यक्तिले भ्याक्सिन लगाएको नमानिने र १० दिन सेल्फ आइसोलेसनमा समेत बस्नुपर्नेछ।
बेलायतको यो व्यवस्था विभेदकारी मात्र नभएर जातिवादी समेत भएको भारतीयको आरोप छ। भारतीय विदेशमन्त्री एस जयशंकरले बेलायती समकक्षी लिज ट्रससँग यो विषयमा 'तीव्र असन्तुष्टि' जनाएको भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले उल्लेख गरेको बीबीसीमा समाचार छ।
कांग्रेस सांसाद जयराम रमेशले पनि बेलायतको निर्णय अनौठो भएको उल्लेख गर्दै यसले कुरुप जातिवादी व्यवहार भएको उल्लेख गरेका छन्।
उता बेलायतले नै सूचीकरण गरेका ४ खोपमध्ये आस्ट्राजेनेका कोभिसिल्ड पनि एक हो। गत जुलाइमा बेलायतले नै भारतबाट ५० लाख डोज कोभिसिल्ड खोप लगेको थियो।
यता नेपालले पनि १० लाख डोज कोभिसिल्डका लागि भारतलाई भुक्तानी पठाइसकेको छ। भारतले अझसम्म पनि उक्त भ्याक्सिन दिएको छैन। बेलायतले पनि कोभिसिल्ड भ्याक्सिनलाई मान्यता नदिएपछि यसले अन्यौल बढाएको छ।