सुर्खेत– कोरोना भाइरसको महामारीअघि सुर्खेत र जुम्लाबाहेक कर्णालीका अन्य जिल्लामा आईसीयू र भेन्टिलेर सेवा थिएन। जिल्ला अस्पतालहरुमा आईसीयू र भेन्टिलेटर नभएकै कारण जटिल प्रकृतिका बिरामी रिफर गर्नुपर्थ्योे।
जुम्ला र सुर्खेतमा पनि आईसीयू र भेन्टिलेटरका सीमित बेड थिए। आईसीयू तथा भेन्टिलेटर बेड नपाएर बिरामी मृत्युको मुखमा पुग्थे। तर, कोरोना भाइरसको त्राससँगै कर्णालीका अस्पतालहरुमा भौतिक पूर्वाधारमा सुधार भएको छ।
कोरोनाअघि पाँच बेड आईसीयू र तीन बेड भेन्टिलेटर भएको प्रदेश अस्पताल सुर्खेतमा २० बेड आईसीयू र सात बेड भेन्टिलेटर थप गरिएका छन्। अस्पताललाई एउटा भेन्टिलेटर कुमारी ट्रष्ट (संविधानसभा सदस्य राजिवविक्रम शाह)ले उपलब्ध गराएका हुन् भने बाँकी ६ वटा भेन्टिलेटर अस्पताल आफैंले खरिद गरेको हो। हाल अस्पतालमा २५ आईसीयू र १० भेन्टिलेटर छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कोरोनाअघि तीन आईसीयू र पाँच बेड भेन्टिलेटर थिए। हाल प्रतिष्ठानमा १० आईसीयू बेड र ६ बेड भेन्टिलेटर तयार गरिएको छ।
कोरोना महामारी सुरु भएसँगै डोल्पाबाहेक अन्य सबै जिल्लामा आईसीयू सेवा पुगेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालको तथ्याङ्क अनुसार मुगुमा दुई वटा आईसीयू र एउटा भेन्टिलेटर, हुम्लामा पाँच बेड आईसीयू र दुई बेड भेन्टिलेटर, कालिकोटमा पाँच बेड आईसीयू र दुई बेड भेन्टिलेटर, दैलेखमा पाँच बेड आईसीयू र दुई बेड भेन्टिलेटर, जाजरकोटमा दुई बेड आईसीयू र एक बेड भेन्टिलेटर र रुकुम पश्चिममा दुई बेड आईसीयू र एक बेड आईसीयू सेवा थपिएको छन्।
त्यस्तै सल्यानमा दुई बेड आईसीयू र एक बेड भेन्टिलेटर र रुकुम चौरजहारी सामुदायिक अस्पतालमा चार बेड आईसीयू सेवा सञ्चालनमा ल्याइएको छ। डोल्पामा पनि छिट्टै आईसीयू र भेन्टिलेटर सेवा सञ्चालन गर्ने तयारी छ। प्रदेशभर कुल ६२ बेड आईसीयू र २६ बेड भेन्टिलेटर सेवा सुरु भएको छ।
कोरोना प्रतिकार्यका लागि पूर्वाधार खरिदमा कर्णाली प्रदेश सरकारले प्रदेशका १७ वटा अस्पताललाई संघ र प्रदेश सरकारबाट गरी कुल ३० करोड ५९ लाख १५ हजार रुपैयाँ उपलब्ध गराएको थियो। जसमा प्रदेश अस्पताल सुर्खेतलाई १० करोड ५७ लाख १५ हजार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई तीन करोड २५ लाख, चौरजहारी सामुदायिक अस्पताललाई एक करोड ५० लाख उपलब्ध गराएको थियो।
त्यस्तै जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) मध्ये सुर्खेतलाई एक करोड २६ लाख, सल्यानलाई एक करोड ३३ लाख, रुकुम पश्चिमलाई एक करोड ८० लाख, जाजरकोटलाई एक करोड ९६ लाख, दैलेखलाई एक करोड ९५ लाख, कालिकोटलाई ४३ लाख, जुम्लालाई ४३ लाख, हुम्लालाई ७१ लाख, मुगुलाई ८७ लाख, डोल्पालाई ५५ लाख र मेहलकुना अस्पताललाई ९५ लाख रुपैयाँ उपलब्ध गराएको थियो।
त्यस्तै औषधि तथा स्वास्थ्य सामग्री खरिदका लागि प्रदेश स्वास्थ्य निर्देशनालयलाई एक करोड ७९ लाख, प्रदेश आयुर्वेद औषधालयलाई सात लाख २० हजार र सामाजिक विकास मन्त्रालयलाई तीन लाख ५५ हजार रुपैयाँ सरकारले उपलब्ध गराएको थियो।
सोही बजेटबाट आईसीयू र भेन्टिलेटर लगायतका अत्यावश्यकीय उपकरणहरु खरिद गरिएको हो। यद्यपि कुल बजेटमध्ये २३ करोड ४८ लाख ६९ हजार रुपैयाँमात्रै खर्च भएको छ।
निर्देशनालयका अनुसार प्रदेश अस्पताल सुर्खेतले ६ करोड ६२ लाख ३८ हजार, प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले ९६ लाख ५२ हजार, जन स्वास्थ्य सेवा कार्यालय सुर्खेत एक करोड ४१ लाख १८ हजार, सल्यानले एक करोड १५ लाख ५७ हजार, रुकुमपशिचमले ९७ लाख, दैलेखले एक करोड ७९ लाख एक हजार, कालिकोटले एक करोड २५ लाख ५२ हजार जुम्लाले ३६ लाख ४६ हजार रकम खर्च गरेका छन्।
त्यस्तै जनस्वास्थ्य सेवा कार्यालय मुगुले ७४ लाख, हुम्लाले ५६ लाख, डोल्पाले ४४ लाख ७५ हजार, मेहलकुना अस्पतालले ८२ लाख, प्रदेश आयुर्वेद औषधालयले सात लाख, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले तीन करोड १५ लाख रुपैयाँ खर्च गरेर छन्।
आईसीयू र भेन्टिलेटर सेवा सुरु गर्नका लागि सबै जिल्लामा अक्सिजन पुर्याउने उद्देश्यले सुर्खेतमा अक्सिजन प्लान्ट सुरु गर्न लागिएको छ। दैनिक ७० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी अक्सिजन प्लान्ट सुरु गर्न थालिएको प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए। यसअघि प्रदेश अस्पतालमा दैनिक १० देखि १२ सिलिन्डर उत्पादन गर्ने अक्सिजन उत्पादन थियो। हाल त्यसको क्षमता वृद्धि गरेर ७० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी काम थालिएको हो।
अवको तीन महिनाभित्र अक्सिजन उत्पादन गर्ने गरी काम अघि बढेको सूचना अधिकारी बस्नेतले जनाए। हाल कर्णाली प्रदेशका जुम्ला र सुर्खेत मात्रै अक्सिजन प्लान्ट छ। प्रदेश अस्पतालले सुरु गर्न लागेको ठूलो क्षमताको अक्सिजन प्लान्टले कर्णाली प्रदेशका सबै जिल्लाको अक्सिजन पुर्याउने लक्ष्य राखेको छ। आयोजना सुरु भएको खण्डमा प्रदेश अस्पतालका लागि आम्दानीमा महत्वपूर्ण सहयोग मिल्ने अपेक्षा गरिएको छ।
यसरी सिटामोलसमेत नपाउने दुर्गम जिल्लामा भेन्टिलेटर र आईसीयू सेवा सुरु गर्न पाउनु कर्णालीका लागि एतिहासिक उपलब्धि भएको स्वास्थ्यकर्मीहरु बताउँछन्। ‘कोरोनाअघि कर्णालीमा १७ बेड आईसीयू र १० बेड भेन्टिलेटर थिए,’ स्वास्थ्य निर्देशनालयकी निर्देशक रिता भण्डारीले भनिन्, ‘कोरोना कर्णालीलाई स्वास्थ्य क्षेत्र सुधार्ने अवसर बन्यो।’ आईसीयू र भेन्टिलेटर पुगेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिएर सेवा सुरु गर्ने तयारी गरिएको उनको भनाइ छ।
वर्षाैसम्म आईसीयू र भेन्टिलेटर नपुगेका अस्पतालमा कोरोनाले पाँच महिना अवधिमा आईसीयू र भेन्टिलेटर सेवा पुर्याएको हो। कोरोनासँगै जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण र औषधि उपकरणहरु थपिन थालेका छन्। आईसीयू र भेन्टिलेटरको अभावमा मृत्युको बाटो रोज्नुपर्ने विरामीका लागि थोरै भए पनि राहत मिल्ने अपेक्षा गरिएको छ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर २७ वटा क्षेत्रमा विशेषज्ञ उपचार सेवा सुरु गरिएको छ। जिल्ला अस्पतालसहित दश जिल्लाका २७ वटा स्वास्थ्य संस्थालाई रणनीतिक अस्पतालका रुपमा अगाडि सारिएको छ।