सुर्खेत– बेमौसमी तरकारी खेतीमा रमाएका वीरेन्द्रनगर–४ का यामलाल गिरीको कृषि कर्म लोभलाग्दो छ। कृषि कर्मलाई परिवार पाल्ने आधारका रूपमा लिएका उनी सरकारी जागिरे हुन्।
वीरेन्द्रनगर नगरपालिकाका सुब्बा (अनुगमन शाखा प्रमुख) गिरीले जागिर र तरकारीखेती सँगसँगै अगाडि बढाएका छन्। ‘सरकारी जागिर समाजमा इज्जत धान्ने बाटो र तरकारीखेती परिवार पाल्ने आधार हो’, उनी भन्छन्, ‘तरकारीखेती त बाँचुन्जेलको जागिर हो।’
उसो त उनी जागिरभन्दा तरकारीबाट तेब्बर आम्दानी गर्छन्। ‘करेसाबारीमा परिवारका सबै सदस्यका मेहनत छ, यही मेहनतले मासिक एक लाखसम्म आम्दानी हुन्छ’, गिरी भन्छन्, ‘तरकारी राम्रो उत्पादन गर्न सके सरकारी जागिर नभए पनि पुग्छ।’ तरकारी खेती गर्नकै लागि उनले पत्नी (रम्बा पन्त गिरी) लाई जागिर खान दिएनन्। ‘जागिर खाएपछि जहाँ खटायो त्यही जानुपथ्र्याे, यहाँ घरमै बसेर राम्रो आम्दानी भएको छ’, गिरी भन्छन्, ‘पैसा कमाउन जागिर होइन जाँगर (मेहनत) चाहिन्छ।’
उनको करेसाबारी डोके प्यापारीका लागि सुब्बासा’पको तरकारी खेतीका नामले चर्चित छ। गिरीको बारीमा फल्ने तरकारी बिक्री गरेर कतिपयको जीवन गुजारा चलेको छ। तरकारी बिक्री गर्न गिरीलाई बजार जानुपरेको छैन। ‘सरकारी कर्मचारी र डोके प्यापारी घरमै आएर तरकारी किन्छन्’, उनी भन्छन्, ‘घरबाटै तरकारी बिक्री हुँदा ढुवानी खर्च बचेको छ।’
पाँच कठ्ठा जमिनमा गरिएको बेमौसमी तरकारीखेतीमा परिवारका सबै सदस्यको मेहनत छ। ‘अन्य खेतीपाती गर्दा पाँच कठ्ठा जमिनमा ६ महिना खान पुग्दैनथ्यो’, गिरी भन्छन्, ‘तरकारी खेतीबाट लाखौं आम्दानी भएको छ ।’ घर खर्च र लगानी कटाएर वार्षिक ८/१० लाख रुपैयाँ बचत गर्ने गरेको उनको भनाइ छ।
गिरीले कान्छी छोरी (प्रसिला) लाई आईएसी एजी पढाएका छन्। ‘दुई पैसा कमाउन विदेश जान नपरोस् भनेर छोरीलाई कृषि पढाइरहेको छु’, उनी भन्छन्, ‘छोरीले कलेजमा सैद्धान्तिक कुरा सिक्छिन्, घरमा प्राक्टिकल।’ उसो त छोरीले कृषि विषय पढ्न थालेदेखि तरकारीखेती गर्न सहज भएको छ।
‘पहिले युट्ब हेरेर खेती गर्ने तरिका सिक्थें, अहिले छोरीले नै सिकाउँछिन्’, गिरी भन्छन्, ‘सबै युवाले व्यावहारिक शिक्षा पढेको भए डिग्री सकेर विदेश जानु पर्थेन।’ अफिसपछिको समय सदुपयोग गर्न सके कर्मचारीले बजारको महँगो तरकारी खानु नपर्ने उनको भनाइ छ। ‘खान पुग्ने तरकारी त कौसीमै फलाउन सकिन्छ’, गिरी भन्छन्, ‘जाँगर भए न महँगो तरकारी खानुपर्छ न विदेश जानुपर्छ।’
बारीमा कुन बेला पुग्छन् गिरी?
बिहान ६ नबज्दै उठ्यो। नित्यकर्म ग-यो। दुई पाइला हिँडेर करेसाबारी (टनेलबारी) मा छि-यो । ग्राहक अर्थात् डोके प्यापारी (डोकोमा तरकारी बच्दै हिँड्ने) लाई तरकारी बिक्री ग-यो। सामान्य गोडमेल र करेसाबारीमा पानी हाल्यो। नौ नबज्दासम्म करेसाबारीमै व्यस्त। कार्यालयपछि साँझ पुनः करेसा बारीमै रमाउँछन् उनी।