सुर्खेत– गुर्भाकोट नगरपालिका–२ का कृपा सिं घर्तीका बुवा पुष्कर घर्ती बेपत्ता भएको १९ वर्ष पुग्यो। तत्कालीन माओवादीबाट बेपत्ता पारिएका उनी मारिए वा कहाँ छन् परिवारलाई थाहा छैन।
बुवा बेपत्ता पारिंंदा कृपासिंं कक्षा ७ मा पढ्थे। एउटा खानेपानी परियोजनाका लागि पाइपलाईन ओछ्याउने मजदूर पुस्करको आधा महिनाको तलब मागेका माओवादीले नपाएपछि बेपत्ता बनाएका हुन्।
बाबु वेपत्ता भएपछिका दिनहरु कृपासिंका लागि कहालीलाग्दा बने। पढाई छुट्यो, १२ वर्षको उमेरमै परिवार धान्ने जिम्मेवारी आइलाग्यो।
‘बुवा बेपत्ता भएपछि पढाईमात्रै होइन धेरै इच्छा अधुरा भए, जीवन पीडैपीडाको भूमरीजस्तो भयो। बाटो नै मोडियो,’ कृपासिं भन्छन्।
सुरुमा माओवादी बारम्बारको धम्की सहन नसकेपछि पुस्करको परिवार विस्थापित भएर मालारानी बसाइ सर्यो। तर, मालारानी आएको केही महिनामै माओवादीले पुस्करलाई वेपत्ता बनाए।
कृपासिंले बुवाको अवस्था सार्वजनिक गर्न माग गर्दै राज्यका निकाय र विभिन्न आयोगहरुमा निवेदन दिए। ‘तर, १९ वर्ष वितिसक्दा पनि कोही जिम्मेवार नै भइदिएनन्,’ कृपासिं भन्छन्।
०००
वीरेन्द्रनगर–१० की दीपा वली वेपत्ता भएको १७ वर्ष पुग्यो। सशस्त्र द्वन्द्वका बेला राज्यपक्षबाट बेपत्ता बनाइएकी उनी अझै फर्केर आउँछिन् कि भन्ने आशामा छ परिवार।
२१ साउन २०६० मा रामघाटबाट भवानीवक्स दल गण छिन्चु ब्यारेकले पक्राउ गरेदेखि दीपा वेपत्ता भएको बहिनी राजकुमारी बताउँछिन् । उनी जिउँदै छिन् या हत्या भइसक्यो भन्नेबारे परिवारलाई जानकारी छैन।
‘दिदीकै पिरले बा–आमाको मृत्यु भयो, हामी अझै बाटो कुरिरहेका छौं,’ राजकुमारी भन्छिन्, ‘दिदीको अवस्थाका बारेमा १७ वर्षदेखि राज्यले केही भनेको छैन।’
न्यायका लागि अदालतदेखि बेपत्ता छानविन आयोगसम्म पुग्दा पनि आफूहरु अन्यौल र पीडामै रहेको उनको भनाई छ।
‘राज्यका निकायदेखि विभिन्न संघसंस्थाले नाम ठेगाना र घटनाको विवरण लिए तर, घाउ बल्झाउनेबाहेक केही गरेनन,’
राजकुमारी भन्छिन्, ‘शान्ति प्रक्रिया सुरु भएपछि बेपत्ताको छानविन होला भन्ने ठूलो आश थियो, तर खै ?’
०००
तत्कालीन हिंंसात्मक विद्रोहमा राज्य र माओवादी पक्षबाट बेपत्ता पारिएका सयौं परिवारका सदस्यहरुको अवस्था उस्तै छ।
छोराछोरी वेपत्ता पारिएपछि त्यसकै पीरले कैयौं आमा–बुवाको मृत्यु भएको छ। कोही भने वेपत्ता परिएका आफ्ना अभिभावक फर्कन्छन् कि भन्ने आशामा छन्।
परिवारका कमाउने सदस्य बेपत्ता पारिएपछि÷मारिएपछि परिवारको विचल्ली भएको छ। त्यस्ता परिवारहरु अझै पनि मानसिक र भौतिक कस्ट व्यहोर्दै निराशापूर्ण जीवन विताउन बाध्य छन्।
अभिभावक बेपत्ता भएका त्यसबेलाका हजारौं बालबालिका अहिले युवा भइसक्दा पनि बेसहाराजस्तो अवस्थामा छन्।
उनीहरुको चरम निराशा आक्रोश र बदलामा रुपान्तरण भइदियो भने मुलुकका लागि ठूलो दुर्भाग्य हुने जानकारहरु बताउँछन्।
शान्ति प्रक्रियापछि वेपत्ताहरुको छानबिन आयोग बन्यो तर, उक्त आयोग आफैं बेपत्ताजस्तो अवस्थामा छ।
कर्णालीको पहल
यसैबीच कर्णाली प्रदेश सरकारले सशस्त्र हिंसाका बेला वेपत्ता पारिएकाका आफन्तलाई रोजगारमूलक आयआर्जनका कार्यक्रममा जोड्ने भन्दै गत वर्ष कार्यक्रम ल्यायो। तर कार्यविधि नै नबनेपछि उक्त कार्यक्रम लागू भएन।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट वेपत्ताहरुको परिवारलक्षित रोजगार तथा आयआर्जन मूलक कार्यक्रम तर्जुमा गरिए पनि कार्यविधि अभावका कारण गत वर्ष उक्त कार्यक्रम लागू गर्न नसकिएको सरकारका प्रवक्ता एवम् मन्त्री विमला केसीले जानकारी दिइन्।
‘तर, यस वर्षका कार्यक्रम छिट्टै सुरु हुन्छन्। वेपत्ताका आफन्तीको सम्मान र राहतका लागि सिपमूलक कार्यक्रमहरु ल्याएका छौँ,’ मन्त्री केसीले भनिन्।
आज (आइतबार) ‘बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको दशौँ अन्तर्राष्ट्रिय दिवश’ देशभर विविध कार्यक्रम गरेर मनाइँदै छ।
वेपत्ता पारिएकाहरुको सम्झानामा सुर्खेतमा दीप प्रज्वलन र सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको एड्भोकेसी फोरम सुर्खेतका अधिवेक्ता तेज बोहोराले जानकारी दिए।
सरकारी कार्यक्रम र अन्य तामझामभन्दा पनि आफ्ना प्रियजनको अवस्था सार्वजनिक गरिदिएर त्यसका लागि सम्बन्धितले माफी मागिदिए ठूलो राहत पुग्ने पीडितहरु बताउँछन्।