काठमाडौं- नेपालले २०७७ फागुन ४ गते भारतबाट २० लाख डोज कोभिशिल्ड खोप खरिदका लागि गरेको निर्णय अनुसार १० लाख डोज खोप अझै प्राप्त गर्न सकेको छैन। पहिलो ब्याच अन्तर्गत फागनु ९ गते १० लाख डोज प्राप्त गरेको नेपालले बाँकी १० लाख डोज खोप सात महिनासम्म पनि प्राप्त गर्न सकेको छैन।
नेपालले २० लाख डोज खोप खरिदका लागि लाग्ने रकम फागुनमा नै भारतीय कम्पनीलाई भुक्तान गरिसकेको थियो। भारतका अप्रिलतिरबाट कोरोनाविरुद्धको दोस्रो लहर सुरु भएपछि खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो। पहिले भारतीय नागरिकहरुलाई खोप सुनिश्चित गरिसकेपछि मात्रै निर्यात गर्न सर्वोच्च आदेश दिएपछि भारतले खोप निर्यात गर्न सकेको थिएन।
जसका कारण नेपालले रकम भुक्तान गरिसकेको र पाउनुपर्ने बाँकी १० लाख डोज खोप प्राप्त गर्न नसकेको हो । भारतले निर्यातमा प्रतिबन्ध लाग्नअघिसम्म विश्वका ७० भन्दा बढी मुलुकमा ६ करोड डोजभन्दा बढी कोभिड–१९ को खोप निर्यात गरेको थियो।
भारतका स्वास्थ्यमन्त्री मानसुख मान्दभियाले सोमबार भारतले अक्टोबरदेखि खोप निर्यात गरिने घोषणा गरेका हुन्। विश्वको सबैभन्दा ठूलो खोप उत्पादक मुलुक भारतले अप्रिलमा खोप निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालजस्तै अन्य मुलुकहरुलाई ठूलो समस्या भएको थियो।
भारतले अक्टोबरदेखि खोप निर्यात सुरु गर्ने भएपछि नेपालले पनि खरिदका लागि भुक्तान गरिसकेको १० लाख डोज खोप कात्तिक पहिलो साताभित्र प्राप्त गरिसक्ने स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार क्वाड समूह; अमेरिका, भारत, जापान र अस्ट्रेलियाको सम्मेलनमा सहभागी हुने प्रस्थान गर्नुभन्दा एकदिन अघि खोप निर्यात अक्टोबरदेखि सुरु गरिने घोषणा गरिएको जनाइएको छ।
भारतीय स्वास्थ्यमन्त्रीका अनुसार भारतका खोप उत्पादकहरुले अक्टोबरमा तीन करोड डोज खोप उत्पादन गर्ने र उक्त खोप विश्वभर कोरोना महामारीविरुद्धको लडाइँका लागि सहयोग गर्ने बताएका हुन्।
उनले भने, 'हामी कोभ्याक्समार्फत विश्वका अन्य मुलुकहरुलाई कोरोना महामारीविरुद्धको लडाइँमा सहयोग गर्ने छौं। उनले भारतमा उत्पादकहरुबाट यही महिनामा दुई करोड ६० लाख डोज खोप उत्पादन गर्ने अपेक्षा गरेका छन्।
भारतमा करिब २१ प्रतिशत जनसंख्या अर्थात ६ करोड नौ लाखलाई कोरोनाको पूर्ण डोज खोप लगाइएको छ भने आठ करोड १८ लाखलाई पहिलो डोज खोप लगाइएको जनाएको छ। भारतले सन् २०२१ को अन्त्यसम्ममा खोपका लागि योग्य जनसंख्यालाई खोप लगाइसक्ने जनाएको छ। भारतमा जनवरीमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो।
नेपालमा सोमबारसम्म ५५ लाख ८८ हजार ५१७ जनालाई कोरोनाको दोस्रो डोज खोप लगाइएको छ भने ६२ लाख १५ हजारलाई पहिलो डोज लगाइसकिएको छ।