काठमाडौं– सरकारले मेरुदण्ड पक्षघातका बिरामी (स्पाइनल कर्ड इन्जुरी) लाई उपचार खर्चबापत मासिक पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते पेस गरेको अर्थसम्बन्धी प्रतिस्थापन विधेयकमा उल्लेख छ, ‘...मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि खर्चबापत मासिक पाँच हजार रुपैयाँका दरले उपलब्ध गराइने व्यवस्था मिलाएको छु।’
२०७४ सालको निर्वाचनअघि पनि देउवा सरकारले स्पाइनल कर्ड इन्जुरी भएकालाई ५ हजार मासिक भत्ता दिने निर्णय गरेको थियो। तर सो निर्णय निर्वाचन आचारसंहिता लागू भएपछि गरिएको भन्दै कार्यान्वयन हुन पाएन। यसपटक पनि सरकारले घोषणा गरेको कार्यक्रम कार्यान्वयन हुन कठिन रहेको सम्बद्ध क्षेत्रका व्यक्तिहरु बताउँछन्।
नेपालमा कति संख्यामा स्पाइनल कर्ड इन्जुरी भएका मानिसहरु छन् भन्ने कुनै तथ्यांक छैन न त कसैले अभिलेख राखेको छ। सन् २००२ मा स्थापना भएको स्पाइनल इन्जुरी संघ नेपालसँग नेपालमा कति कतिजना स्पाइनल इन्जुरीका बिरामी भन्ने तथ्यांक छैन। विश्वमा सेप्टेम्बर ५ मा ‘स्पाइनल कर्ड डे’ मनाइन्छ। तर नेपालमा भने मनाउने गरिएको छैन।
संघले नेपाल सरकारसँगको सहकार्यमा काभ्रेको भैंसेपाटीमा भवन बनाएको छ। जहाँ सन् २००२ देखि बिरामीको पुनःस्थापनाका लागि आवश्यक पर्ने चिकित्सा तथा नर्सिङ सेवा, फिजियोथेरापी, अकुपेसनल थेरापी, सामाजिक तथा परामर्श सेवा, ह्विलचेयर सेवा, ओपीडी तथा विभिन्न किसिमका व्यावसायिक तालिम दिँदै आएको छ।
‘हामीले अस्पतालको तथ्यांकलाई लिएर मात्रै स्पाइनल इन्जुरी भएका मानिसको संख्या भन्न सक्दैनौं,’ संघका अध्यक्ष प्रचण्ड श्रेष्ठ भन्छन्, ‘तथ्यांक संकलनका लागि हामी लागिरहेका छौं। देशका विभिन्न अस्पतालमा बिरामी हुन्छन्, उनीहरुसँग तथ्यांक एकीकृत गर्ने काम गर्नेछौं।’
तर संस्थासँग पनि स्पाइनल इन्जुरीका व्यक्ति कति छन् भन्ने तथ्यांक छैन। ‘हामीले अस्पतालको तथ्यांकलाई लिएर मात्रै स्पाइनल इन्जुरी भएका मानिसको संख्या भन्न सक्दैनौं,’ संघका अध्यक्ष प्रचण्ड श्रेष्ठ भन्छन्, ‘तथ्यांक संकलनका लागि हामी लागिरहेका छौं। देशका विभिन्न अस्पतालमा बिरामी हुन्छन्, उनीहरुसँग तथ्यांक एकीकृत गर्ने काम गर्नेछौं।’
नेपालमा स्पाइनल इन्जुरी संघ नेपाल स्थापना भएको १८ वर्ष भइसकेको छ। संघलाई हालसम्म केन्द्र र प्रदेश सरकारबाट ८० लाख रुपैयाँ सहयोग आएको श्रेष्ठ बताउँछन्।
‘गत आर्थिक वर्ष सरकारले ५० लाख सहयोग गरेको थियो भने २ वर्ष अघि प्रदेश सरकारबाट ३० लाख प्राप्त भएको थियो,’ श्रेष्ठले भने, ‘उक्त रकम हामीले बिरामीको उपचार र पुनस्र्थापनका लागि खर्च गरेका छौं।’
स्पाइन सर्जन एसोसिएसनका अध्यक्ष डा. विमलकुमार पाण्डेका अनुसार नेपालमा ७५ प्रतिशत मानिसको इन्जुरी लडेर वा कुनै दुर्घटनामा परी चोटपटक कारणले हुन्छ। महिलामा भन्दा पुरुषमा स्पाइनल कर्ड इन्जुरीको समस्या बढी रहेको उनी बताउँछन्।
‘महिलामा भन्दा पुरुषमा बढी स्पाइनलको समस्या भएको देखिन्छ। महिलाको तुलनामा पुरुषहरु बढी रुखमा चढ्ने, अग्लो ठाउँमा जान्छन्, उनीहरु त्यहाँबाट लड्दा स्पाइनल इन्जुरी हुन्छ,’ पाण्डे भन्छन्।
स्पाइनल कर्ड इन्जुरीको दोस्रो कारण सडक दुर्घटना भएको उनी बताउँछन्। समग्रमा विश्वमा हेर्ने हो भने मानिस सडक दुर्घटनाका कारण स्पाइनल इन्जुरीले प्रताडित हुने गरेका छन्। तर नेपालमा भने अग्लो ठाउँबाट लडेर इन्जुरी हुने धेरै छन्।
नेपालमा २००७ देखि मात्रै स्पाइनल कर्डबारे केही अध्ययन भएका छन् तर पनि कति संख्यामा इन्जुरी भएका मानिस छन् भन्ने कुनै तथ्यांक छैन। तथ्यांकबिना नीति बनाउन पनि असहज हुने भएकाले अबको पहिलो काम तथ्यांक खोज्नु भएको डा. पाण्डे बताउँछन्।
विश्वमा वार्षिक २ लाख ५० हजारदेखि ५ लाखसम्म स्पाइनल कर्ड इन्जुरीका बिरामी थपिने उनी बताउँछन्।
स्पाइनल कर्ड इन्जुरी पुनस्र्थापना केन्द्रका मेडिकल डाइरेक्टर डा. राजु ढकाल नेपालमा स्पाइनल इन्जुरीको बारेमा कुनै जनचेतनाका कार्यक्रम पनि नभएको प्रति गुनासो गर्छन्।
‘स्पाइनल इन्जुरी भइसकेपछि मानिसलाई सामान्य जीवनमा फर्कन निकै कठिन हुन्छ। स्पाइनल कर्डका बिरामीले परिवार तथा समाजबाट पनि हेला हुने गरेका छन्। उनीहरुमा मानसिक समस्या हुने जस्ता समस्या देखिएका छन्। कतिपयलाई परिवारमा पुनस्र्थापना गराउन पनि कठिन हुन्छ। नेपालमा यस्ता बिरामीका लागि जनचेतनाका कार्यक्रम हुन जरुरी छ,’ ढकाल भन्छन्।
कोभिडका कारण त ह्विलचियर प्रयोगकर्तालाई समेत समस्या भएको र ह्विलचियर ल्याउन पनि नसकिएको ढकालले बताए।
संघका अध्यक्ष प्रचण्ड श्रेष्ठका अनुसार स्पाइनल इन्जुरी भएका मानिसको विवरण संघले वा उपचाररत संस्थाले सरकारलाई पेस गर्छ र सोही आधारमा सरकारले बिरामीलाई पैसा उपलब्ध गराउँछ।