भनिन्छ, आमा धर्ती, बा आकाश। आमा सत्य, बा विश्वास। बाको बखान वा उनको गुणदोषबारे सन्तान त्यति बोल्दैनन्। सायद बाबारे बोल्न ओठहरु डराउँछन्, शब्दहरु लजाउँछन्।
बा–आमा सन्तानको आँखामा आफ्ना सपना देख्छन्। आफ्नो जीवन सन्तानले फेरेको सासमा महसुस गर्छन् र सन्तानले चाल्ने पाइलाहरुबाटै गन्तव्यको खोजी गर्छन्। बाबाट प्राप्त हुने हिम्मत र जिम्मेवारीबोध, आमाबाट प्राप्त हुने स्नेह र समर्पण नै सन्तानका मार्गदर्शक हुन्।
आमासँग बढी प्रेम जोडिएकाले हुन सक्छ गीतसंगीत सिर्जना गर्ने सर्जकहरुले आमालाई बढी सम्झना गरेका। आमालाई सम्झिनेहरुले बालाई बिर्सिएका भने होइनन्। सिर्जना प्रेमिल अभिव्यक्ति भएकाले होला आमाका लागि धेरै गीत तयार भए। बाका लागि त्यति धेरै गीत वा अन्य सिर्जना गरिएनन्, गरिए पनि चर्चामा आएनन्।
संयोग नै मान्नुपर्छ नेपाली संगीतमा यस वर्ष साउन अन्त्यतिर केही प्रतिनिधि गीत सार्वजनिक भए।
कुशे औंसी (बाको मुख हेर्ने दिन) नजिकिँदै गर्दा साउन २९, ३० र ३१ गते तीनवटा बा सम्बन्धी गीत सार्वजनिक भए। तीज पर्व जुन गीतकै पर्व पनि हो यस्तो समयमा युट्युबमार्फत् सार्वजनिक भएका ‘बा’ का गीतहरु ट्रेन्डिङमा त परेनन् तर बाको विराट् हृदय कल्पिनेहरु भने यी गीत र गीतका सर्जकप्रति नतमस्तक भए।
साउन २९ गते अहिलेकी चर्चित गायिका एलिना चौहानको स्वरमा आयो ‘मेरो बाबा भगवान’ शीर्षकको गीत। नरेश खातीको शब्द र संगीतमा सजिएको यो गीतले राम्रो छाप छोड्यो, उस्तै राम्रो प्रतिक्रिया बटुल्न सफल भयो।
मेरो बाबा आकाश हो घामको किरण छर्ने
संसारमा सबभन्दा धेरै माया गर्ने
नरेशकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा उनले लेखेका छन्, ‘बाबा जो आकाश बनेर घामको किरण छरिरहे, सन्तानका अघि कहिल्यै आँसु देखाएनन्। अनवरत रुपमा खटिरहेको सन्तानको खुसीका लागि।’
साउन ३० गते नेपाली लोक क्षेत्रका चर्चित गायकहरू पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, खुमन अधिकारीलगायत १२ जना गायकको स्वरमा ‘मेरो बाबा’ गीत सार्वजनिक भयो ।
२९ मिनेट लामो यो गीत मात्र होइन, फिल्मकै रुपमा तयार भएको छ। डीआर सुजनको शब्द, सुजन र टेकनारायण चापागाईँको संगीतमा तयार भएको गीतले पनि खुबै प्रशंसा पाइरहेको छ।
आफू एक वर्षको नहुँदै बाले छोडेर गएपछि सुजनका लागि बा एउटा कथाका पात्र मात्र थिए। तर त्यही कथाका पात्र बालाई सम्झिएरै बस्ने हृदयले उनलाई एउटा सुन्दर सिर्जना उपहार दियो। यही सिर्जनालाई साकार रुप दिन गरिएको संघर्षमा आफू पटकपटक भावुक भएको अनुभव उनीसँग छ।
हिजो राति सपनीमा बाबा तपाईं आउनुभयो,
के छ बाबु भन्दै मेरो शीरमा हात लाउनु भयो,
मेरो प्रेरणाको स्रोत मेरो जीवनको हिरो,
ती भनेका कुराको अझै छाप छ गहिरो गहिरो...
सुगम पोखरेलले ३१ साउनमा सार्वजनिक गरेको बाप्रति समर्पित गीतका शब्द हुन् यी। बाको सम्झनामा सुगमले उनेका फूलरुपी शब्दहरु जतिबेला युट्युबमार्फत सार्वजनिक भए, दुर्भाग्य! त्यसको केही दिनअघि मात्र उनका बाले सांसारिक जीवनबाट बिदा लिइसकेका थिए।
सुगमले आफ्नो गीत सार्वजनिक गर्दै भनेका छन्, ‘धेरै अघिदेखि नै ‘बुवा’ को बारेमा गीत बनाउने सोच थियो र त्यो प्रयास केही समयअगाडि पूर्ण भयो। म्युजिक भिडियो बनाएर यो कुशेऔंसीको आसपास सार्वजनिक गर्ने योजना थियो। सबै तयारी भइसकेको थियो अप्रत्याशित खबर आयो बुवा बित्नुभयो भनेर। बालाई ‘सरप्राइज’ दिन खोज्दा आफैं पो ‘सरप्रजाइज्ड’ भएँ।’
‘बुवा...हजुरको याद आउँछ’ शीर्षकको यो गीत सुगमले आफ्ना बालाई त सुनाउन पाएनन् तर अहिले हजारौं सन्तान यो गीत सुनेर आफ्ना बालाई सम्झिरहेका छन्।
नेपाली फिल्म ‘स्वर्ग’ मा समावेश ‘छोरी मलाई भागी भागी नसताऊ’ गीतले सन्तानको बाप्रतिको प्रेमलाई उजागर गरेको थियो। त्यसपछि तुलनात्मक रुपमा कम भए पनि नेपाली संगीत क्षेत्रमा बाप्रति समर्पित यस्ता थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन्।
बाप्रति सन्तानको अगाध आदर र सम्मान हुँदाहुँदै पनि सामाजिक संरचना र बाको ओजअगाडि नतमस्तक हुने नेपाली मनोदशाले पनि बामाथिका सिर्जना कमै भएको हो कि?
त्यसो त अन्य विधा कथा, कविता, लघुकथा वा निबन्धमै पनि बाप्रतिको उच्च सम्मान र बाको नायकत्वको बखान गर्न नेपाली साहित्यकारहरु कत्ति पनि हिच्किचाएका छैनन्।
आमालाई सन्तानले जसरी सहजै साथीको व्यवहार गर्न सक्छ, बालाई त्यो व्यहार गर्न सक्दैन।
यसमा बा परिवारको ‘निर्देशक’ वा ‘व्यवस्थापक’ वा ‘हाकिम’ हुने एउटा पितृसत्तात्मक बनोटको परिणाम हो। यद्यपि बाले हरबखत सन्तानलाई राम्रो मार्ग समात्न निर्देशन गरिरहेका हुन्छन् न कि सन्तानको संघर्षले आफ्नो लोभको खाता भर्ने चाहनामा।
कुशे औंसीमा बाको सम्झना गर्ने तमाम सन्ततिले हरेक दिन बाको श्रद्धा गरिरहून्।
पितृ देवो भवः !