काठमाडौं– च्याम्पियन्स लिगअन्तर्गत आज हुने तेस्रो क्वार्टरफाइनल खेलमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन लिगविजेता बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्दैछ। पोर्चुगलको राजधानी लिस्बनको स्टेडियो डा लुजमा हुने खेल नेपाली समय अनुुसार राति पौने १ बजे सुरु हुनेछ।
पाँच पटकको युरोपियन विजेता बार्सिलोनाले ३० पटक च्याम्पियन्स लिगमा भाग लिइसकेको छ भने १८ पटक क्वार्टरफाइनलमा पुगेको छ। त्यस्तै २३ पटक सहभागी बनेको बायर्न म्युनिख पनि समान १८ पटक क्वार्टरफाइनल पुगेको छ भने पाँच पटक लिगविजेता बनिसकेको छ।
क्याटालान क्लब बार्सिलोना च्याम्पियन्स लिगमा २००७–०८ (१३ सिजनयता)बाट लगातार क्वार्टरफाइनल पुगिसकेको छ। यस आधारमा बार्सिलोना च्याम्पियन्स लिगमा बलिलो टोलि सावित हुनसक्छ।
बार्सिलोना बायर्न म्युनिखसँग सन् २०१४–१५ सिजनयता पहिलो पटक भेट भएको छ। पाँच वर्षअघिको सेमीफाइनल खेलमा बार्सिलोनाले बायर्नलाई हराएको थियो। तर, च्याम्पियन्स लिगको हेड–टू–हेडमा बायर्न अघि छ। बायर्नले बार्सिलोनाविरुद्ध आठ खेलमा पाँचपटक जित निकालेको छ। बाँकी दुई खेल बार्सिलोनाले जितेको छ भने एक खेल बराबरी भएको छ।
आजको खेलमा जित निकाल्दै बार्सिलोना लगातार दोस्रोपटक लिगको सेमीफाइनलमा पुग्न चहान्छ। ऊ सन् २००७–०८ देखि २०१२–१३ मा लगातार ६ पटक सेमीफाइनलमा पुगेको थियो।
खेलअघिको प्रेस कन्फ्रेन्समा बोल्दै बार्सिलोनाका प्रशिक्षक क्विके सेटिएनले फरवार्ड लियोनेल मेस्सी र रोबर्ट लेबान्डोस्कीको तुलना गर्न नमिल्ने बताएका छन्।
‘लेबान्डोस्की उत्कृष्ट खेलाडी हुन् तर यो स्पष्ट छ कि, उनी मेस्सी होइनन्,’ सेटिएनले भने, ‘उनी उर्जाशिल समयमा छन्। टिममेटबाट राम्रो एसिस्ट पाइरहेका छन्। जसले गर्दा उनले च्याम्पियन्स लिगमा १३ गोल गरिसकेका छन्। तर हामीले नापोलीविरुद्ध मेस्सीको खेल पनि देखिसकेका छौं।’
लेवान्डोस्कीले जारी सिजनमा राम्रो प्रदर्शन गर्दै जीवनकै सिर्जनसिल समयमा छन्। उनले सबै प्रतियोगिताका ४४ खेलमा ५३ गोल गरिसकेका छन्।
यता मेस्सीले पनि राम्रो प्रदर्शन गरिरहेका छन्। उनले ४३ खेलमा ३१ गोल र २६ एसिस्ट गरिसकेका छन्। तर उनी स्पेनिस विजेता बन्नबाट चुके। जारी सिजनबाट बार्सिलोना लिग जित्दै सिजनको पहिलो उपाधि जित्न चाहन्छ।
–बीबीसी