वीरगन्ज- पर्साका थप ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। नारायणी अस्पतालका अनुसार नयाँ संक्रमितमध्ये वीरगन्ज महानगरका बढी छन्।
संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा रेल्वे माविमा गरिएको कोरोना परीक्षणमा ३१ जनामा कोरोना संक्रमण देखिएको हो। यस्तै, त्रिजुद्ध माविमा कोरोना परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।
थपिएका संक्रमितमध्ये वीरगन्ज-१० स्थित घन्टाघर, गणेश टोल र रानीघाटका १७ जना छन्। वीरगन्ज ठेगाना लेखाएका चार जनामा पनि कोरोना संक्रमण देखिएको छ।
यस्तै, घडीअर्वा १० का पाँच, वीरगन्ज कारागार, पानीटंकी तथा छिपहरमाई गाउँपालिका-५ का दुई/दुई जना र माईस्थान ६ तथा लालपर्सा २५ का एक/एक जनामा कोरोना संक्रमण देखिएको छ।
अस्पतालका अनुसार आजै बारा प्रसौनीका एक जनामा पनि संक्रमण पुष्टि भएको छ।