काठमाडौं- सिरहाको लहान नगरपालिका–१७ का ४० वर्षीय महोमद समिदको टाउको नभएको शव गत वैशाख ३० गते फेला पर्यो। टाउको भने अर्को दिन केही पर क्षतविक्षत अवस्थामा फेला पर्यो।
गत शनिबार काठमाडौंको गोंगबुमा घटेको घटना पनि सोही प्रकृतिको छ। दाङका ४५ वर्षीय कृष्णबहादुर बोहोराको शव पनि टाउको काटिएको अवस्थामा सुटकेसमा फेला परेको थियो।
बोहोराको टाउको र खुट्टा छुट्टाछुट्टै स्थानमा भेटिएको थियो। चितवनकी कल्पना पौडेल मुडभरीले बोहोराको हत्या गरी शव टुक्राटुक्रा पारेर फालेको प्रहरीसमक्ष स्वीकारेकी छन्। यी दुई हत्याको शैली एउटै जस्तो देखिन्छ।
रुपन्देहीको तिलोतमा नगरपालिका–१० मा भैसी फर्ममा एक जनाले फरुवाले हानेर ५ जनाको हत्या गरेको घटना दुई महिना बितेको छैन।
भैंसी फर्मका कामदार झसेन्द्र सिंजालीले जेठ २७ गते राति रिसकै झोकमा ५ जनाको हत्या गरेको खुलेको थियो।
०७६ जेठ ७ गते पाँचथरको मिख्लाजुङका मानबहादुर माखिनले पत्नीसहित ७ जनाको विभत्स हत्या गरे। आफ्नो परीवार र केही अरुको गरी ७ जनाको ज्यान लिएपछि माखिन आफैले पनि झुण्डिएर आत्महत्या गरे।
रुपन्देही र पाँचथरमा भएका यी दुई विभत्स हत्याका घटनाको प्रकृति पनि उस्तै छ। दुवै घटनामा रिसको आवेगमा हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
संगठित अपराधको पृष्ठभूमि नभएकाहरु पनि क्रुर हत्यामा संलग्न भइरहेको यी घटनाहरुबाट पुष्टि हुन्छ। दुवै घटनामा आवेगप्रेरित सामूहिक हत्या भएको प्रहरीले जनाएको छ।
ललितपुरको सानेपास्थित आफ्नै घरमा गत माघ २८ गते मुना कार्कीको रगताम्य अवस्थामा शव फेला पर्यो। मुनाको शव छेवैमा घरेलु कामदार विजय चौधरी झुन्डिएको अवस्थामा फेला परे।
विजयले नै मुनाको हत्यापश्चात आत्महत्या गरेको कुरा खुल्यो। तर, घटनाको कारण खुल्न सकेको छैन।
काठमाडौंकै बबरमहलमा ०७५ भदौ ४ गते फ्रान्सका लागि पूर्वनेपाली राजदूत ८० वर्षीय केशव झा मृत भेटिए। घरमा काम गर्ने माली सानुकान्छा तामाङले पैसा नदिएको झोकमा चक्कु प्रहार गरि झाको हत्या गरेको निष्कर्ष प्रहरीले निकाल्यो।
भक्तपुरको चाँगुनारायण बस्ने ६० वर्षीया सावित्री भट्टराई आफ्नै घरभित्र घाँटी रेटेर हत्या भएको अवस्थामा २०७६ असार १५ गते फेला परिन्।
प्रहरीको अनुसन्धानबाट छोरी ईश्वरी भट्टराईले प्रेमी मोहम्मद नौसादसँग मिलेर आमाको हत्या गरेको खुल्यो। नौसादले प्रेमिकाको योजनामा १२ लाख रुपैयाँ दिने सर्तमा भारतबाट भाडाका हत्यारा झिकाएर सावित्रीको हत्या गरेको अनुसन्धानले देखायो।
नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी सूचना प्रविधिले गर्दा मानिसको जीवनमा आएको परिवर्तन नै अपराधिक मानसिकता बढ्नको मुख्य कारण भएको बताउँछन्।
प्रविधिलगायत विभिन्न कारणले सामाजिक अवस्था तथा व्यक्तिको जनजीवनमा परिवर्तन आउँदा विसंगत मनोभावना बढ्नुको परिणामले क्रुर हत्यासम्म हुन्छ, भण्डारीले भने, मनिस प्रविधिमैत्री हुँदा त्यसले मानसिक समस्या निम्त्याइरहेको हुन्छ, जसको कारण मानिस छिट्टै आवेगमा आएर अपराधी बन्छ।
सामाजिक सञ्जालको पहुँचकै कारण हत्यापछि शव व्यवस्थापन गर्न अरुबाट सहजै सिकिरहेको भण्डारीको बुझाइ छ।
एआईजी भण्डारीले भनेजस्तै गोंगबु घटनामा पनि बोहोराको अण्डकोषमा हानेर हत्या गरेपछि शव लुकाउन क्रुर शैली अपनाएको देखिन्छ। यसअघि सशस्त्र प्रहरी बलका डीआईजी रञ्जनकुमार कोइरालाले पनि पत्नीको शव व्यवस्थापनका लागि यस्तै शैली अपनाएका थिए।
प्रहरी प्रधान कार्यालयको तथ्यांक हेर्दा नेपालमा वार्षिक औसतमा ६०० जनाको हत्या भइरहेको छ।प्रहरीको तथ्यांकअनुसार पछिल्लो सात वर्षमा चार हजार ३४७ जनाको हत्या भएको छ।