विराटनगर– मोरङ कटहरी १ मा सञ्चालित कृषि बजारमा तालाबन्दी गरिएको छ। वडाध्यक्ष कपुर माझीले बुधबार तालाबन्दी गरेका हुन्।
प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जिल्ला सहकारी संघ मोरङसँगको समन्वयमा विराट कृषि उत्पादन तथा बजारीकरण संघले सञ्चालन गरेको कृषि बजारमा वडाध्यक्ष माझीले तालाबन्दी गरेका हुन्।
कृषि बजारको रेखदेखका लागि करारमा राखेका तीन कर्मचारीलाई प्रदेश सरकारले हटाएपछि वडाध्यक्ष असन्तुष्ट रहेको बताइएको छ।
साउनदेखि करारका तीन कर्मचारीको म्याद थप नभएपछि वडाध्यक्ष माझीले तालाबन्दी गरेका हन्। वडाध्यक्ष माझीले कटहरीमा ‘कोरोना संक्रमण बढेको’ भन्दै कृषि बजारमा तालाबन्दी गरिएको बताए।
अत्यावश्यक वस्तुको कारोबारमाथि प्रतिबन्ध लगाइएकोमा विराट कृषि उत्पादन तथा बजारीकरण संघका सञ्चालकले आपत्ती जनाएका छन्।
जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले ताला खोल्ने विषयमा गाउँपालिका अध्यक्ष रामकुमार कामतसँग छलफल भइरहेको बताए।
कृषि बजारको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको लामो समय वितेपनि सञ्चालनमा आउन सकेको थिएन।
कोरोना संक्रमण बढ्दै गएपछि किसानको बारीमा उत्पादन भएको तरकारीले बजार नपाएपछि प्रदेश सरकारसँगको समन्वयमा जिल्ला सहकारी संघले बजार सञ्चालन शुरु गरेको थियो।