काठमाडौं- वीरगन्जको नारायणी अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षाका लागि सुरक्षाकर्मी खटिएका छन्।
बिरामीको उपचारको विषयलाई लिएर आइतबार स्थानीयले अस्पताल परिसरमै स्वास्थ्यकर्मी तथा चिकित्सकलाई हातपात गरेपछि अस्पतालका कर्मचारीको सुरक्षाका लागि सुरक्षाकर्मी खटिएको अस्पतालका मेसु मदन उपाध्यायले जनाएका छन्। उनका अनुसार अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ।
अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि डाक्टर, नर्ससहित ३५० भन्दा बढी कर्मचारीले हिजो राजीनामा चेतावनी दिएका थिए । तर सुरक्षा प्रबन्ध र दोषीलाई कारबाही गर्ने स्थानीय प्रशासनको निर्णयपछि अस्पतालको सेवा सहज रुपमा सञ्चालन गरिएको मेसु उपाध्यायले जानकारी दिए।
उपाध्यायले भने, ‘अस्पतालमा काम गर्न असहज भएपछि हामीले सांकेतिक रुपमा राजीनामाको दबाब दिएका हौं, अहिले सुरक्षा प्रबन्धपछि सेवा सहज सञ्चालन गरिएको छ ।’
साउन २४ गते वीरगन्ज छपकैयाकी २० वर्षिया युवतीको वीरगन्जका आधा दर्जन अस्पताल दौडाउँदा पनि कसैले भर्ना नलिँदा उपचार नपाएर उनको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले साउन २५ गते नारायणी अस्पतालमा तोडफोड गरेका थिए।
अस्पतालमा ९ जना चिकित्सक, ९ जना स्टाफ नर्ससहित ५१ जना कर्मचारीहरु कोराना संक्रमित भएका छन्।