काठमाडौं– सरकारले उमेर समूह र जिल्लाको आधारमा सोमबार भदौ ४ गतेदेखि १० दिनसम्म कोरोनाविरुद्धको भेरोसेल खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ उमेर समूहलाई जिल्लाअनुसार खोप दिने योजना बनाएको छ।
मन्त्रालयका अनुसार १० वटा जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइँदैछ। ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्ला, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिने जनाएको छ।
त्यस्तै, काभ्रे र चितवनका ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई पनि खोप दिइने भएको छ।
काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ।
माथि उल्लिखित जिल्लाबाहेक मनाङ, मुस्ताङ र रुकुमपूवबाहेक अन्य ५५ जिल्लामा भने ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पहिलो मात्रा असोज ४ देखि १४ सम्म खोप लगाएकालाई दोस्रो मात्रा कात्तिक ४ देखि १४ सम्म लगाइनेछ।