काठमाडौं- भक्तपुरमा चितुवाको छालासहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर, भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले चाँगुनारायण नगरपालिका–८, सुडालबाट चार र सूर्यविनायक–८, दार्जलिङ हाइटबाट तीन गरिसात जनालाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार सुडालस्थित सुरेश कार्कीको घरमा डेरा गरि बस्ने चार जना पक्राउ परेका छन्। उनीहरुको कोठामा छापा मार्दा कालोमा खैरो र सेतो रङको पाटे चितुवाको सुक्खा छाला एक थान र चोरीकोे मोटरसाइकल बरामद गरिएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।
उनीहरुको बयानका आधारमा घटनामा संलग्न भएको थप तीनलाई जना सूर्यविनायक–८ दार्जलिङ हाइटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रामेछाप, सुनापति गाउँपालिका–५ स्थायी घर भई हाल चाँगुनारायण–८ सुडाल बस्ने १९ वर्षीय कुमार लामा, १७ वर्षीय फुसाङ तामाङ, १८ वर्षीय हिमाल लामा र २१ वर्षीय पासाङ तामाङ छन्।
यस्तै, काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिकाका–९ घर भइ सूर्यविनायक नगरपालिका–८, दार्जलिङ हाइट बस्ने २२ वर्षीय सञ्जीव सिंजाली मगर, रोशी गाउपालिका–१० घर भइ सूर्यविनायक बस्ने २४ वर्षीय दिपेश तामाङ र सोही ठाउँका २३ वर्षीय मिलन मगर छन्।
प्रहरीले उनीहरुको साथबाट भक्तपुर नगरपालिका–९ का प्रजु सुवालको चोरी भएको बा ९० प ६५१० नम्बरको मोटरसाइकल बरामद गरेको छ। त्यस्तै, विभिन्न कम्पनीका मोबाइल ९ थान, सवारी चालक अनुमतिपत्र दुई थान, विभिन्न मोटरसाइकलको नम्बर प्लेट चार थान, मोटरसाइकलको लक एक थान बरामद गरेको प्रहरीले जनाएको छ।
चितुवाको छालासहित पक्राउ परेकाहरुलाई जिल्ला वन कार्यालयको जिम्मा लगाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।