सरकारले अनुमति भएका व्यक्तिलाई नेपाली कूटनीतिक नियोगको सिफारिसमा ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी उद्धार गरिने २०० जना नेपाली नागरिकसमेत गरी दैनिक कुल ५०० जनाको सङ्ख्यामा नबढ्ने गरी उडान अनुमति दिने निर्णय गरेको छ।
“सरकारले यस्ता उडानबाट आउने व्यक्तिलाई काठमाडौँ उपत्यकामा नै तोकिएका स्थानमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइ सङ्क्रमणमुक्त भएको यकिन भएपछि मात्र सम्बन्धित ठाउँमा पठाउने व्यवस्था गर्ने छ”, अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने, “यसरी आउने व्यक्तिलाई आवश्यक क्वारेन्टिनको व्यवस्थापन काठमाडौँ उपत्यकाका स्थानीय तहको समन्वयमा काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गर्ने छन् । यसरी आउने यात्रुको पाँचदेखि सात दिनभित्र स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउने छ ।”
मन्त्री डा. खतिवडाका अनुसार सरकारले हाल सङ्क्रमणको दर बढेका, सङ्क्रमणको उच्च जोखिममा रहेका एवं आवश्यक मात्रामा स्वास्थ्यकर्मीको अभाव देखिएका स्थानमा स्वास्थ्य मन्त्रालयबाट तत्काल आवश्यक जनशक्ति खटाई स्वास्थ्य सेवालाई सुदृढ र प्रभावकारी गराउने निर्णय गरेको छ ।