काठमाडौं- ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि भएको खुला छनोट प्रतियोगिताको ६७ केजी तौल समूहमा पहिलो भएका छन्।
नेपाल बक्सिङ संघद्वारा सोमबार आयोजित प्रतियोगिताको फाइनलमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिलले बक्समान्डुका दावा छिरिङ लामालाई ५–० ले पराजित गरे । प्रतियोगिताका ५ स्पर्धामा ३२ खेलाडी सहभागी थिए।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको ५१ केजीमा एचटुओका रविन थापा, ५७ केजीमा एपीएफका पूरन राई, ६३ केजीमा १३औं सागका स्वर्णधारी नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र ७१ केजीमा एपीएफका विकास लामा आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै पहिलो भएका थिए।
विश्व च्याम्पियनसिपका लागि बक्सिङ संघले गठन गरेको छनोट समितिले यी पाँच मध्ये उत्कृष्टताका आधारमा खेलाडी छनोट गर्ने नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बताए। विश्व च्याम्पियनसिप सर्बियाको बेलग्रेडमा अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म हुनेछ।