वीरगन्ज- नेसनल मेडिकल कलेजमा उपचाररत बालकको आज (मंगलबार) मृत्यु भएको छ। बारा, बारागढी गाउँपालिका-२, सुखीपथराका ९ वर्षीय शिशिरकुमार साहको मृत्यु भएको हो।
बालकका बुबा राजन साहले मेडिकल कलेजको लापरबाहीले छोराको मृत्यु भएको आरोप लगाए। “पाँच वटा अस्पताल चहार्दाचहार्दा पनि छोरालाई कसैले भर्ना लिएनन्,” उनले दुखेसो पोखे, “त्यसपछि प्रहरीलाई भनसुन गरेर नेसनल मेडिकल कलेजले भर्ना लियो। तर, आईसीयुमा राखेर उपचार गर्नुको साटो छुट्टै कोठामा राखिदिएपछि छोरोको मृत्यु भयो।”
उनले छोरालाई भर्ना गरिएपछि पनि चिकित्सकले रेखदेख गर्न नआएकाले २४ घन्टापछि मृत्यु भएको बताए।
उनका अनुसार झाडापखाला र बान्ता हुन थालेपछि छोरालाई आइतबार अबेर राति मेडिकल कलेजमा भर्ना गर्न ल्याइएको थियो। तर, मेडिकल कलेजले सोमबार बिहान ९ बजे मात्रै छोरालाई भर्ना गरेको थियो।
घटनाबारे अस्पतालसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।