विराटनगर– प्रदेश १ मा मंगलबार साँझसम्म दुई हजार ७५० स्वाब नमुना परीक्षण हुन बाँकी छ।
प्रदेश प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवका अनुसार विराटनगरस्थित प्रदेश प्रयोगशालामा एक हजार, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९००, विराटनगरस्थित कोशी अस्पतालमा ८५० स्वाब नमुना परीक्षण हुन बाँकी छ।
स्वाब नमुना संकलन बढेपछि पछिल्लो समय दैनिक ७०० स्वाब नमुना थन्किने गरेको उनले बताए। प्रदेश १ मा दैनिक दुई हजार २०० को हाराहारीमा स्वाब नमुना संकलन हुने गरेको छ।
उनका अनुसार प्रदेश १ मा साउन २३ गतेसम्मको स्वाब परीक्षण सकिएको छ।
सामाजिक विकास मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ का तीनवटा प्रयोगशालाबाट दैनिक एक हजार ५०० स्वाब नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको बताए।
प्रदेश १ मा दैनिक संक्रमितको संख्या बढ्दै गएको छ। कोरोना भाइरस पोजेटिभको संख्या बढे क्षमताभन्दा कम मात्रामा परीक्षण हुने प्रदेश प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले बताए। उनले भने, “अहिले पुल विधिबाट परीक्षण गर्ने गरिएको छ।”
६० हजारको परीक्षण
प्रदेश १ मा रहेका तीनवटा प्रयोगशालाले गत चैत १८ गतेदेखि मंगलबार साँझसम्म ६० हजार ६८० वटा पीसीआर परीक्षण गरेको छ। तीमध्ये प्रदेश १ का ५६ हजार ४१६ र प्रदेशबाहिरका चार हजार १७४ जनाको परीक्षण भएको प्रदेश प्रयोगशालाका निर्देशक यादवले जानकारी दिए।
उनका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १८ हजार ८०७, विराटनगरस्थित कोशी अस्पतालले २२ हजार ३५२ र प्रदेश प्रयोगशालाले १९ हजार ५२१ नमुनाको पीसीआर परीक्षण गरेका छन्। तीमध्ये एक हजार ५६३ को रिपोर्ट पोजेटिभ आएको छ भने ५४ हजार ८५३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ।
प्रदेश १ मा कोरोना संक्रमित ८ जनाको मृत्यु भइसकेको छ, जसमध्ये मोरङमा सबैभन्दा बढी ६५७ जना संक्रमित देखिएका छन्। त्यहाँ १६ हजार ९४२ जनाको पीसीआर परीक्षण गरिएको छ। विराटनगर महानगरपालिका क्षेत्रभित्रका ९ हजार ६८० को परीक्षण भएको निर्देशक यादवले बताए।