काठमाडौं– बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आर्थिक प्रलोभनमा पर्ने ६ जना प्रहरीलाई निलम्बन गरेको छ।
प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा उनीहरुलाई साउन २१ गते नियन्त्रणमा लिएको थियो।
प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाका अनुुुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ५ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेका एक जना गरेर ६ जना निलम्बनमा परेका हुन्।
सवारी चालकसँग विभिन्न वहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिएर प्रदेश प्रहरी कार्यालयमा झिकाइएको थियो। थप छानबिन गर्नका लागि उनीहरुलाई निलम्बन गरिएको हो। निलम्बनमा पर्नेमा २ जना प्रहरी हवल्दारद्वय राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की तथा प्रहरी जवानहरु कुमारबाबु सिंह, धिरेन्द्र साह, रामकुमार थापा, नबिनबहादुर थापा छन्।
निलम्बन गरिएका प्रहरीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालयले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली पनि गठन गरेको छ। बाग्मती प्रदेश प्रहरी कार्यालयले डियुटीमा इमान्दारिता प्रदर्शन गर्ने प्रहरीलाई पुरस्कृत र गैह« व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गर्दै आइरहेको छ।
प्रहरी कर्मचारीहरुबाट सम्पादन भइरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स नै गठन गरिएको छ। सेवाग्राहीसँग आर्थिक प्रलोभनमा पर्ने एकजना प्रहरी निरीक्षकसहित ११ जना प्रहरी अहिलेसम्म निलम्बित भइसकेका छन् भने डियुटीमा इमान्दारिता प्रदर्शन गर्ने २५ प्रहरी पुरस्कृत भइसकेका छन्।