कोरोना संक्रमणबाट भारतका चर्चित गीतकार राहत इन्दौरीको निधन भएको छ। उनी ७० वर्षका थिए।
कोरोना संक्रमण भएर सास फेर्न कठिन भएपछि उनलाई इन्दोरको एक अस्पतालमा भर्ना गरिएको थियो।
अरबिन्द अस्पतालका चिकित्सक विनोदी भण्डारीले मंगलबार दुईपटक हृदयाघात भएका इन्दौरीलाई बचाउन नसकिएको बताए।
उनलाई निमोनियाले पनि सताएको थियो। उनले मंगलबार बिहानै ट्विटरमा आफूलाई कोरोना संक्रमण भएको बताएका थिए।
उनले लेखेका थिए, ‘कोरोनाको केही लक्षण देखिएपछि हिजो मेरो परीक्षण गरिएको थियो। त्यसको रिपोर्ट पोजेटिभ आएको छ’
राहत इन्दौरीको जन्म १ जनवरी १९५० मा भएको थियो।
उनले बलिउड फिल्ममा पनि केही गीत लेखेका थिए। उनका घातक फिल्मको ‘कोई जाए तो ले आए’, इश्क फिल्मको ‘निँद चुराई मेरी तुमने वो सनम’, मुन्नाभाई एमबीबीएसको ‘एम बोले तो मुन्ना भाइ एमबीबीएस’ आदि लोकप्रिय छन्।
मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले लाखौं–करोडौंको मनमा रहेका गीतकारको निधनले देशका लागि अपूरणीय क्षति भएको बताएका छन्।