काठमाडौं- चितवनमा बुधबारदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म पूर्णरुपमा हिँडडुल गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय, चितवनले सूचना जारी गर्दै उक्त अवधिमा हिँडडुल तथा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि अन्य जिल्लाबाट लुकिछिपी आउने प्रवृत्तिलाई रोक्न रातिको समयमा मानिसको आवातजावत पूर्णरुपमा बन्द गरिएको सूचनामा उल्लेख छ।
कार्यालयका अनुसार लामो दूरीका सवारीसाधनबाहेक अनिश्चितसमयका लागि पूर्णरुपमा हिँडडुल तथा अन्य सवारी आवागमन बन्द हुनेछन्।
निर्देशनको अवज्ञा गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने पनि सूचनामा उल्लेख छ।