काठमाडौं– उच्च अदालत पाटनले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई तत्काल काम गर्नबाट रोक लगाएको छ।
मंगलबार मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले भट्टलाई ३२ साउनसम्मका लागि काममा नलगाउनु भनी सरकारका नाममा आदेश जारी गरेको हो।
अधिवक्ता जयबहादुर भुजेलले रिट दायर गर्दै भट्टलाई लगानी बोर्डको सीईओको रुपमा कामकाज गर्न रोक लगाउन माग गरेका थिए।
उप–रजिष्ट्रार शम्भुप्रसाद रेग्मीका अनुसार अदालतले अल्पकालीन आदेश दिंदै ३२ साउनमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।
मन्त्रिपरिषदको १९ साउनमा बसेको बैठकले भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गरेको थियो।
विभिन्न विदेशी कम्पनीको नेपाल एजेन्ट भएर काम गरेर ठूला आयोजना अलपत्र पारेको भन्दै भट्टको चौतर्फी आलोचना भइरहेको छ।