काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा गठन गरेका विभागहरू तत्काल खारेज गर्न १२ जना केन्द्रीय सदस्यहरूले माग गरेका छन्।
महाधिवेशनको मुखैमा विभागहरू गठन गरेर सभापति देउवाले महाधिवेशन निष्पक्षतामा प्रश्न उठाउने काम गरेको भन्दै गगन थापालगायतका केन्द्रीय सदस्यहरुले खारेजीको माग गरेका हुन्।
‘महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टीका साथिहरुमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो ? यस कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ,’ मंगलबार प्रकाशित संयुक्त विज्ञप्तिमा भनिएको छ।
साथै विज्ञप्तिमा पार्टीका सबै तहको मिति तोकिसके पश्चात् बिभिन्न नियुक्तिहरु गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उलंघन गरेको आरोपसमेत लगाइएको छ।
विभाग गठन खारेजीको माग गर्ने केन्द्रीय सदस्यहरूमा चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, कमला पन्त, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादव छन्।
अहिले गठन गरेका विभागहरूले आफ्नो जिम्मेवारीअनुसार काम गर्न समय नपाउने भन्दै विज्ञप्तिमा महाधिवेशन सम्पन्न भएको दुईमहिनाभित्र गरिनु पर्ने विभाग गठनको काम तत्काल किन भएन ? हाम्रो सम्पूर्ण ध्यान र शक्ति मर्यादित, निष्पक्ष, विश्वसनीय र भब्य रुपमा महाधिवेशन सम्पन्न गर्नमा लगाउनु पर्ने होइन र ? भनेर प्रश्न गरिएको छ।