काठमाडौं– सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद छाड्न दाहाल–नेपाल समूहले माग गरिरहेका बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सत्ताका लागि लड्ने यो नै अन्तिम युद्ध नभएको टिप्पणी गरेका छन्।
मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले पार्टीका नेताहरुप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्। ‘महामारीबाट बाँचियो भने सत्ताको लडाइँ फेरि पनि खेल्न सकिन्छ,’ उनले भने, ‘यो नै अन्तिम युद्ध होइन। पाँच वर्ष जनताले म्याण्डेट दिएकै छन्।’
सकारलाई सघाउन नेताहरुलाई आग्रह गर्दै उनले सत्ताको खेलमा नलाग्न आग्रह गरे। ‘स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँड्नेहरुलाई आग्रह गर्न चाहन्छु– जनताले निगरानी गरिराखेका हुन्छन्,’ उनले भने, ‘जनताको नजरमा हामी परीक्षामा नै छौं। सबैले जनताबाटै उत्तीर्ण हुनुपर्छ।’
पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेको भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस् भन्ने शुभकामना उनले दिए।
मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणको स्थिति नियन्त्रणमा नै रहेको बताउँदै सरकारले नियन्त्रणका लागि आवश्यक सबै काम गरिरहेको बताए। संक्रमणको अवस्था समुदाय स्तरमा देखिए पनि नियन्त्रणको स्थितिमा नै रहेकोले आत्तिनु नपर्ने उनको भनाइ छ।