धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाका दुई जना कोरोना संक्रमित सम्पर्कविहीन भएका छन्।
धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीप्रसाद उपाध्यायका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का २८ वर्षीय कोरोना संक्रमित पुरुष सम्पर्कमा आएका छैनन्।
साउन ८ मा सेती प्रादेशिक अस्पतालमा स्वाब संकलन गराएका ती पुरुषमा साउन १६ गते संक्रमण पुष्टि भएको थियो।
“उपमहानगरपालिकाको टोली, वडाअध्यक्ष र प्रहरीले खोजी गर्दा समेत फेला पार्न सकिएको छैन,” उपाध्यायले भने, “संक्रमित पुरुषको फोन नउठ्ने कारण फेला पार्न नसकिएको हो।”
उपाध्यायका अनुसार आइतबार संक्रमण पुष्टि भएका वडा नम्बर ८ का ४० वर्षीय पुरुष पनि सम्पर्कविहीन छन्। ती पुरुषले शुक्रबार सेती अस्पतालमा स्वाव संकलन गराएका थिए।