बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास, सेतीमा पनि बहाव उच्च

कर्णालीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास, सेतीमा पनि बहाव उच्च

कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास शुरु भएको छ ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

धनगढी- कर्णाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन्।

सोमबार दिउँसो १ः३० बजेकोे रेकर्डअनुसार कर्णालीमा पानीको सतह १० मिटर १६ सेन्टिमिटर पुगेको छ। कर्णाली चिसापानीका गेजरिडर पार्वती गुरुङका अनुसार बिहान ८ बजेको रेकर्डमा आठ मिटर ८० सेन्टिमिटर थियो।

कर्णालीको ठूलीगाड, सेती र भेरी नदीमा पनि पानी बढिरहेकाले अझै पानीको सतह बढ्नसक्ने उनले बताए। उनले पहाडतिर भारी वर्षा भएको र नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् ।

“नदी उर्लिएर आएको छ, यसैगरी बढेमा तटीय क्षेत्र डुबान हुन्छ”, गेजरिडर गुरुङले भने, “मैले जोखिममा रहेका क्षेत्रमा सूचना गरिसकेकी छु, जोखिममा रहेका बस्ती सार्न आवश्यक छ।”

नदीमा पानीको बहाव बढेपछि नेपाल रेडक्रस सोसाइटी टीकापुर, भजनी नगरपालिका र टीकापुर नगरपालिकाले नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्।

“हामीले सूचना प्रणालीमा रहेका सबैलाई सूचना गरिसकेका छौँ”, रेडक्रस सोसाइटी टीकापुरका सभापति जगदीश्वर पण्डितले भने, “उद्धार र क्षतिबाट जोगाउन पूर्वतयारी आवश्यक छ।”

बस्तीमा बाढी पसेपछि भजनी नगरपालिकाले सोमबार बिहानैबाट जोखिममा रहेका नागरिकलाई उच्च सडकमा सार्न सुरु गरिसकेको स्थानीय उद्धारकर्ता जयप्रसाद ढुङ्गानाले बताए।

“सयौँ परिवार सडकमा त्रिपाल लगाएर बसिरहेका छन्”, ढुङ्गानाले भने, “यसपटक बाढीले तहसनहस पारेको छ। नागरिकको बिचल्ली भएको छ।”
चिसापानीमा कर्णाली नदीको सतह नौ मिटर पुगे सर्तक, १० मिटर पुगे पूर्वतयारी र ११ मिटर पुगे तटीय क्षेत्रका लागि खतरा मानिन्छ।

सेतीमा पानीको बहाव उच्च : सचेत हुन आग्रह

लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव अत्यधिक बढेको छ । नदीमा पानीको बहाब बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीलाई आग्रह गरेको छ ।

डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक रहेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो ।

केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेत पनि कटान गरी बगाउन थालेको छ ।

सेती नदी आसपासका बस्तीहरु बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन यहाँको प्रहरी प्रशासनले आग्रह गरेको छ ।

त्यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ । -रासस

प्रकाशित: Aug 11, 2020| 09:05 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।