काठमाडौं- झुक्याएर विवाह तथा ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई काठमाडौंको थानकोटबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ बस्ने धादिङ, सिद्धलेख गाउँपालिका–७ घर भएका ३० वर्षीय राजन विश्वकर्मा भन्ने राजन सेन्चुरी छन्।
अनुसन्धानका क्रममा राजनले एक महिलालाई आफ्नो नाम राजन श्रेष्ठ र अविवाहित रहेको भन्दै झुक्याएर विवाह गरेको खुलेको महानगरीय प्रहरी वृत्त, थानकोटले जनाएको छ।
राजनले विवाह गर्न राखेको प्रस्ताव महिलाले स्वीकार गरि साउन १६ गतेदेखि २१ गतेसम्म थानकोट चेकपोस्टस्थित डेरामा बसेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
दराजमा राखेको नगद दुई लाख रुपैयाँ, एक तोला बराबरको सुनको सिक्री, एक तोला बराबरको सुनको रिङ र एक थान मोबाइल लगेर राजन साउन २२ गतेबाट सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ।
राजनविरुद्ध मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी तथा ठगी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त, थानकोटले जनाएको छ।