सुर्खेत कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ।
सोमबार २४ जना कोरोना संक्रमित थपिएसँगै प्रदेशमा कुल संक्रमितको संख्या २ हजार ३ जना पुगेको हो। पछिल्लो २४ घण्टामा सुर्खेतस्थित प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा परीक्षण गर्दा दैलेखमा १७ जना, सल्यानमा ६ जना र सुर्खेतमा एक जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये दैलेखको भैरवी गाउँपालिका वडा नं ३ का तीन जना, नारायण नगरपालिका वडा नं १ का नौ जना, वडा नं ३, ६, ७, ८ र ९ का एक एक जना छन् ।
त्यस्तै सल्यानको बनगाड कुपिन्डे नगरपालिका वडा नं ६ मा पाँच जना, वडा नं ७ र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १२ का एक एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिका विकास मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितमध्ये हालसम्म एक हजार ८८० जना डिस्चार्ज भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख बृषबहादुर शाहीले जानकारी दिए।