धनगढी- प्रकृतिको कुचीकारको रुपमा रहेका गिद्धको गुँड विगत १० वर्षमा सुदूरपश्चिमको कैलालीमा दुई गुणा बढीले घटेको छ भने कञ्चनपुरमा भने सात गुणाले बढेको छ।
सन् २०१० मा गणना गर्दा कञ्चनपुरमा चार वटा गिद्धका गुँड फेला परेकोमा पछिल्लो गणनाअनुसार सात गुणाले वृद्धि भएर ५६ पुगेको छ।
सन् २०२१ मा भएको गणनाअनुसार कञ्चनपुरमा डंगर गिद्धका ५०, सानो खैरो गिद्धका ४ र सुन गिद्धको एक वटा गुँड फेला परेको छ। चराविद् हिरुलाल डगौराका अनुसार कञ्चनपुरको शुक्लाफाँटामा ४ वटा सुन गिद्ध, तारापुर पोष्टमा डंगर गिद्धको १२, भोजपुरमा १३, वंशामा १०, परशियामा ४ र काञ्जीमा ११ वटा गिद्धका गुँड फेला परेका छन् भने शिखर तालमा १ वटा सुन गिद्धको गुँड फेला परेको छ।
सन् २०१२ मा कैलालीमा ६८ गिद्धका गुँड फेला परेकोमा सन् २०२१ मा भएको गणनामा २८ वटा मात्र गुँड फेला परेका छन्। पछिल्लो समय फेला परेका सबै गुँड डंगर गिद्धका हुन्। कैलालीको खुटियामा १०, समैजीमा २, पहलमानपुरमा १०, मात्रृभूमीमा ३ र बेलीपटेलामा ३ वटा गिद्धका गुँड फेला परेका हुन्। कैलालीमा सबैभन्दा बढी सन् २०१३ मा ८२ गिद्धका गुँड फेला परेका थिए। सो समयमा गोदावरीको खुटिया क्षेत्रमा ५८, धनगढीको बेलीपटेलामा २ र जोशीपुरको वन्जरियामा १ वटा गिद्धका गुँड फेला परेका थिए। जोशीपुरको वन्जरीयामा फेला परेको गुडँ सेतो गिद्धको थियो भने खुटिया र बेलीपटेला क्षेत्रमा फेला परेको डंगर गिद्धको थियो।
बैतडीको खोड्पेमा सन् २००९ मा गणना गर्दा ४ वटा हिमाली गिद्धको गँुड फेला परेकोमा पछिल्लो समय गरिएको गणनामा १५ वटा गिद्धका गुँड फेला परेका छन्। सन् २०२१ मा भएको गणनामा बैतडीको खोड्पेमा हिमाली गिद्धका १३ वटा र झलेपानीमा २ वटा हाडफोर गिद्धका गुँड फेला परेको हो।
पछिल्लो गणनाअनुसार प्रदेशका तीन जिल्लामा ४०६ गिद्ध फेला परेका छन्। सोमध्ये सबैभन्दा बढी कञ्चनपुरमा २२३, कैलालीमा १४४ र बैतडीमा ३९ फेला परेका हुन्। कैलालीमा फेला परेका सबै डंगर गिद्ध हुन्। सोमध्ये खुटिया, समैजी, फकलपुर, मात्रृभूमीमा ११९ र बेलीपटेलामा २५ वटा गिद्ध फेला परेका हुन्।
कञ्चनपुरमा फेला परेकामध्ये ४ वटा सानो खैरो, १ वटा सुन तथा अन्य सबै डंगर गिद्ध हुन्। कञ्चनपुरमा फेला परेकामध्ये सबैभन्दा बढी तारापुर पोष्ट र भोजपरमा १३० गिद्ध फेला परेका हुन्। चराविद् हिरुलाल डगौराका अनुसार शिखर तालमा ३, वंशामा २४, परसिया र काञ्जी र २५ शुक्लाफाँटामा २५÷२५ गिद्ध फेला परेका हुन्।
नेपालमा ९ प्रजातिका गिद्ध पाइने गरेकोमा कैलालीमा ५ प्रजातिका मात्र फेला परेका छन्। डङ्गर, सेतो, हिमाली ग्रिफन, सुन, खैरो, सानो खैरो गिद्ध फेला परेका छन्। डंगर गिद्ध सधै देखिने गरे पनि अन्य गिद्धका प्रजातिहरू भने चिसो मौसममा मात्र आउने गरेको चराविद् चौधरीले बताए।
नेपालमा सन् २०११ को मार्च महिनामा ९ प्रजातिको गिद्ध फेला परेको थियो। लामो ठूडे गिद्ध नवलपरासीमा फेला परेको थियो। संसारमा २३ प्रजातिको गिद्ध पाईने गर्दछन्। अन्टार्टीका र अस्ट्रेलियामा बाहेक सबै ठाउ“मा गिद्ध पाउने गर्छ।
गिद्ध संरक्षणका लागि वन कार्यालयले सिमलको रुख कटानीमा रोक लगाएको बताएको छ। गिद्ध संरक्षणका लागि नेपालका ६ बढी ठाउँमा शुद्ध आहार केन्द्र स्थापना गरिएका छन् भने पशुचौपायालाई प्रयोग गरीने औषधि डाइक्लोफेनिक बिक्रीवितरणमा रोक लगाएको छ। रहेको गिद्ध संरक्षणकर्ताहरूको भनाइ छ।
सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र बैतडीमा हरेक वर्ष असोज महिनादेखि जेठ महिनासम्म गिद्ध गणना गरीदै आएको चौधरीले बताए। ‘समग्र प्रदेशमा गिद्धका गुँडको संख्या हेर्दा स्थिर छ’, चौधरीले भने, ‘कैलालीको कुरा गर्दा घटेको देखिएको छ।’
कैलालीको खुटियामा गुँड घट्नुको कारण गिद्धले गँड बनाउने अग्ला रुख नासिनु रहेको छ भने बेलीपटेला क्षेत्रमा बाढी पिडितहरू गिद्धले गुँड बनाउने रुखको तल नै घर बनाउँदा त्यो क्षेत्र छोडेर बसाई सरेर गएको चौधरीले बताए। उनले जोशीपुरका वञ्जरिया क्षेत्रमा एउटा मात्र रहेको सेतो गिद्धको गुँड ३ वर्षदेखि नदेखिएको बताए। सरकारले मुक्त कमैयालाई त्यो क्षेत्रमा बसाउँदा भएको रुख कटानका कारण गुँड नभए पनि कहिलेकाही सेतो गिद्ध भने देखिने गरेको बताए।